१४ माघ, धादिङ–
प्रस्तावित बेलकोटगढी नगरपालिका कार्यान्वयनको माग गर्दै स्थानीयवासीले शुक्रबार नुवाकोट प्रवेशको दुई मुख्य नाकामा सवारी चन्न रोक लगाएका छन् । राज्य पुन संरचना अन्तर्गत जिल्लाबाट प्रस्ताव गरिएको प्रतिवेदन कार्यान्वनको माग गर्दै बन्दै स्थानीयहरुले देवीघाट–गल्छी सडक खण्ड र पासाङ ल्यामु मार्ग अबरोध पु¥याइहेका हुन् ।
जिल्लाबाट सर्वसम्मत रूपमा प्रस्ताव गरिएको प्रतिवेदन कार्यान्वयनको माग राख्दै विभिन्न स्थानमा गठन भएका सङ्घर्ष समिति नै गठन गरेर माग सम्बोधनको लागी दबाब दिन शुक्रबारदेखि अनिश्चितकालिन यातायात सेवा बन्दको घोषणा गरेका छन् । स्थानीयहरु सडकमा उत्रिएर शुक्रबार दिनभर सडकमा सवारी चल्न रोक लगाए । पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक साँझ ५ बजेमात्रै खुलेको थियो ।
साँझ ५ बजेदेखि विहान ५ बजेसम्म अत्यावसेक गाडीहरु मात्र चल्न दिने बन्दकर्ताहरुले बताएका छन् । स्थानीय नागरिक, जिल्ला स्थित राजनीतिक दल लगायत सरोकारवालाबाट सर्वसम्मत प्रस्ताव गरिएको बेलकोटगढी नगरपालिकालाई राज्य पुर्नसंरचना अयोगले सरकारलाई प्रतिवेदन बुझाउने क्रममा परिवर्तन गरेको बिरोधमा आन्दोलन सशक्त बनाएको स्थानीय नेता सूर्यबहादुर तामाङले बताए ।
बन्द रहेको सडक खुलाउन शुक्रबार ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन गरिएपनि सयौको सङ्ख्यामा रहेका स्थानीयवासीले विभिन्न स्थानमा सडक अबरोध गराएका थिए । स्थानीय तहको पुन संरचना गर्ने अधिकार स्थानीयवासीमा नै हुनुपर्ने र त्यसलाई जिल्लाबाट समेत सर्वसम्मत गरी पठाएकोमा केन्द्रीय आयोगले परिवर्तन गरेको विरोधमा आन्दोलन गर्नु परेको बताएको बेलकोटगढी नगरपालिका सङ्घर्ष समितिका संयोजक गोकुलप्रसाद दाहालले बताए ।
यता लिखु गाँउपालिका बचाउ सङ्घर्ष समितिले १३ दिनदेखि छहरे–टोखा सडक खण्ड बन्द गराएका छन् । नुवाकोट र रसुवाबाट बाहिरी जिल्लासंग जोड्ने तीनवटै नाका अबरुद्ध हुदाँ यात्रुहरु समस्यामा परेका छन् ।
बेलकोटगढी नगरपालिका पुर्नबहालीको मागको लागी दबाब दिन दुईपिपलको कोल्पुखोला पुल, जिलिङको देवीघाट पुल र बेलकोटको तादीखोला पुलमा स्वागत ब्यानर राखी नगरपालिका भित्रका चार किल्लामा अनिश्चित समयको लागी पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड छेकिएको छ । शान्तिपूर्ण आन्दोलन मार्फत मागको सम्बोधन नहुने भएकाले पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड ठप्प बनाइएको संघर्ष संमितिका संयोजक गोकुलप्रसाद दाहालले बताए ।
अन्तराष्ट्रिय मार्गको रुपमा जोडिएको देवीघाट–गल्छी सडक खण्ड बन्द भएपछि रसुवागढी नाकासंगको यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ ।
२०७३ माघ १४ गते प्रकाशित