
मनिष दुवाडी / १६ माघ, धादिङ –
उत्तरी धादिङको त्रिपुरेश्वर गाउँ विकास समितिकी प्रेम कुमारी मल्लकोे सिमेन्ट र ढुङगामाटोको जोडाइको २ तले पक्की घर थियो साथसाथै शौचालय पनि । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट उनको घर तथा शौचालय बस्नै नहुने गरि भत्कियो । उनको भत्किएको घर अहिले जस्ताको तस्तै भएपनि उनले पक्की शौचालय बनाइसकेपछि छिन ।
ग्रामिण क्षेत्रका स्थानियहरुमा बढ्दै गएको सरसफाइप्रतिको जनचेतनाका कारण भुकम्प पिडितहरुले आफु त्रिपाल र बाँसका टहरामै बसेर भएपनि पक्की शौचालय बनाइसकेका छन । त्रिपुश्वर गाउँ विकास समितिकै नारायण सापकोटाले भने, ‘सरकारले घर बनाउको लागि अनुदान दिने रकम पाउन कहिले हो कहिले, रकम तत्काल पाउनेहरुले पनि घर बनाउन सकेका छैनन । घर बनाउने टुङगो लागेको छैन तर मैले पक्की शौचालय बनाइसकेको छु ।’
विनाशकारी भुकम्प पछि एकैठाउँमा धेरैजना त्रिपाल र टहराहरुमा बस्नुपर्दा निकै नै सकस भएको र त्यहाँ सरसफाइ गर्नुपर्छ भन्ने पाठ सिकेकाले आफु बस्ने घर नबनाएर पनि आफ्नो परिवारले प्रयोग गर्ने शोचालय पहिले बनाएको अधिकारीले बताए ।
नेपालभर २०१७ को अन्तिम सम्ममा खुल्ला दिशामुक्त क्षेत्र बनाउने सरकारको घोषणा अनुरुप जिल्ला विकास समिति धादिङले अभियानकै रुपमा विभिन्न गाउँ विकास समितिहरुमा स्वास्थ्य र सरसफाइको विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेपछि ग्रामिण क्षेत्रका जनताहरुमा शौचालयका प्रयोग र फाइदाबारे जनचेतना बढ्न थालेको हो ।
त्रिपुरेस्वर गाउँ विकास समिति लगायत धादिङका २५ वटा भन्दा बढी गाविसहरु अहिले खुल्ला दिशामुक्त गाविस घोषणा भइसकेका छन । भुकम्पमा परेर धादिङको करिव ८५ हजार घर संगै शौचालयहरु भत्किएपनि अहिले धेरैजसो गाविसमा घर भन्दा पहिले शौचालय बन्न थालेका छन । भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङको तथ्याङ्क अनुसार जम्मा ५५ सय घरधुरीले मात्रै अहिले घर बनाउन थालेका छन यद्यपी भुकम्प पछि मात्रै ७ वटा गाउँ विकास समितिहरु पुर्णरुपमा खुल्ला दिशामुक्त गाविस घोषणा भइसकेका छन ।
भुकम्पमा घर भत्किएर घर खुल्ला दिशामुक्त गाविस घोषणा गर्नको लागि गाउँ विकास समितिका सवै घरहरुमा शौचालय अनिवार्य हुन्छ । तर २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले बनिसकेका शौचालयहरु पनि भत्काइदिएपछि अहिले स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्ने सस्थाहरुले पनि २०१७ सम्म जिल्लालाइ नै खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने जिल्ला विकास समितिको योजना अनुरुप घर भन्दा पहिले शौचालय बनाउन पे्ररित गर्दै आएका छन् ।
गाउँ विकास समितिका प्रत्येक वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भुमिकाले गर्दा पनि ग्रामिण क्षेत्रका जनताहरुमा स्वास्थ्य र सरसफाइप्रतिको चेतनामा बृद्धि भएको स्वयंसेविकाहरुले बताएका छन । त्रिपुरेश्वर गाउँ विकास समिति वडा नं ४ कि महिला स्वास्थ्य स्वयंसेविका अम्विका धरेलले भनिन, ‘हामीले गाउँ विभिन्न आमा समुहको बैठक, सहकारीको बैठक, घरदैलो कार्यक्रम लगायतका कार्यक्रमहरुमा पुगेर गाउलेहरुलाइ स्वास्थ्य र सरसफाइको कुराहरु सिकाएका छौँ । हामीले सिकाएको भन्दा पनि गाउँलेहरु आँफै सचेत भएर नै पहिले शौचालयहरु बनाएका छन । शौचालय बनाउनै नसक्नेहरुलाइ गाविस तथा विभिन्न संघस्थाहरुले सहयोग पनि गर्ने गरेका छन् ।’
गाविसमा रहेका शौचालय बनाउनै नसक्ने स्थानियहरुलाइ गाउँ विकास समितिको सिफारिसमा विभिन्न संघसस्थाहरुले शौचालय बनाउन अनुदान समेत दिने गरेका छन । धादिङको त्रिपुरेश्वर र सत्येदेवी गाविसलाइ खुल्ला दिसामुक्त गाविस बनाउनको लागि स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गरिरहेको सस्था एक्सन नेपालका कार्यक्रम संयोजक श्यामकृष्ण बजगाइले भने, ‘अधिकाँश गाउलेहरुले आँफले शौचालय बनाएका छन, एकाध स्थानियहरु जसको आयस्रोत केही छैन, खानलाउनलाइ समेत समस्या पर्ने गरेको छ, तिनिहरु जस्ता गरिव र विपन्नहरुको लागि गाविसको समन्वयमा हामीले अक्सफाम सहयोगमा शौचालय बनाउने सामाग्रीहरु निशुल्क वितरण गरेका छौँ ।’ ५० गाविस रहेको धादिङ जिल्लामा हालसम्म १९ वटा गाउँ विकास समितिहरु खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन भने भुकम्प पछि मात्रै विभिन्न दातृ निकायका सहयोगमा सहयात्री समाज, फोकस नेपाल, एक्सन नेपाल, कोसोक नेपालद्धारा संचालित कार्यक्रमहरुमार्फत ७ वटा गाउँ विकास समितिहरु खुल्ला दिशामुक्त भइसकेका छन् ।
विभिन्न विद्यालयहरुमा स्वास्थ्य र सरसफाइसम्वन्धी कार्यक्रम हुने, त्यहाँ विद्यार्थीहरुवीच प्रतिस्पर्धा हुने भएकाले बालबालिकाको प्रेशरमा पनि कतिपय अभिभावकहरुले भुकम्प पछि घरमा पक्की शौचालय बनाएको शिक्षकहरुले बताएका छन । चक्रेश्वरी निमावी त्रिपुरेश्वरमा शिक्षक खिल प्रसाद पाण्डेले भने, ‘विद्यालयमा हुने गरेका स्वास्थ्य र सरसफाइको कार्यक्रमहरुको प्रभावले गर्दा बालबालिकाहरुले घरमा गएर आफ्ना अभिभावकहरुलाइ शौचालय बनाउन लगाएको पाएका छौँ । समग्रमा भन्नुपर्दा भुकम्प पछि ग्रामिण भेगका जनताहरुमा शौचालयको प्रयोगको महत्व बुझेकाले र, स्वास्थ र सरसफाइको चेतनास्तरमा बृद्धि भएकाले भुकम्पले भग्नावशेश बनाएका घरहरु जस्तोका तस्तै रहेपनि पक्की शौचालयहरु पहिले बनेका छन् ।’
२०७३ माघ १६ गते प्रकाशित