
मनिष दुवाडी / १८ माघ, धादिङ –
मध्य माघको मौषम । ग्रामिण क्षेत्रका अधिकाँश ठाउँमा यतिवेला हिउदे वाली लगाउने चटारो छ । त्यही माथी भुकम्पले भत्काएका भौतिक संरचना, गोठ र बस्ने घर बनाउने चटारो पनि उत्तिकै छ तर त्यही चटारोको वीचमा यतिबेला गाउँ गाउँमा भुकम्प प्रतिरोधी घर बनाउने डकर्मी तालिम लिनको लागि स्थानियहरुलाइ भ्याइनभ्याइ भएको छ ।
भुकम्प पिडितहरुको सहयोगार्थ पुननिर्माण र पुनस्थापनाका कार्यक्रमहरु लिएर गाँउ गाउँ पुगेका विभिन्न संघसस्थाहरुले स्थानियहरुलाइ भुकम्प प्रतिरोधी घर बनाउने तालिम दिन थालेपछि स्थानियहरुलाइ कामको भ्याइ नभ्याइ हुन थालेको हो । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पले गाँउ नै सखाप पारेका कारण अहिले भुकम्प प्रतिरोधी घर बनाउनको लागि स्थानियहरुले पनि चासो देखाउन थालेपछि गाउँमा उत्साह नै थपिएको छ ।
भूकम्प गएको २० महिनासम्म घर नबनाई छाप्रामा बसेका धादिङको ग्रामिण क्षेत्रका अधिकांश स्थानियहरु अहिले भूकम्प प्रतिरोधी घर निर्माणको तालिम लिन र उक्त तालिममा भुकम्प प्रतिरोधी घर बनाउने तरिकाबारे परामर्श लिन व्यस्त छन् । अझ केही गाउँ विकास समितिहरुमा त महिलाहरुले पनि घर बनाउने डकर्मी तालिम लिएका छन । बेनिघाट गाउँ विकास समिति वडा नं ९ की सविता चेपाङले भनिन, ‘हाम्रो गाउँमा भएको सवै घरहरु भुकम्पमा परेर बस्नै नहुने गरि भत्कियो, अव नयाँ घर बनाउनको लागि तालिम दिइने भएपछि आफु पनि खाली बसेकोे बेला सीप र प्रविधि पनि सिकिने भएकाले डकर्मी तालिम लिएको हुँ । यो तालिमले प्राविधिक ज्ञान त पायौँ, यो तालिममले पुर्ण दक्ष नबनाए पनि अव गाउँमा एकैपटक धेरै घरहरु बन्ने भएकाले दक्ष डकर्मीहरुसंग संगै काम गरेर म पनि दक्ष डकर्मी बन्छु ।’
तालिम लिने कतिपयले यस्तोखाले तालिम लिन ढिलो भएको र ढिलै भएपनि सुरक्षित घर बनाउनको लागि धेरै नै प्राविधिक कुराहरु सिकेको बताएका छन । ‘भुकम्प प्रतिरोधी घर बनाउनको लागि जग खन्दा कति गहिरो खन्ने, कसरी खन्ने, कत्रो गाह्रो लगाउने, कति फिटमा झ्याल राख्ने, पट्टिहरु कहाँ कहाँ राख्ने र सुरढुङगाहरु राखेर कसरी घरलाइ भुकम्प प्रतिरोधी बनाउन सकिन्छ भनेर सिकेका छौँ ।’ बेनिघाट गाउँ विकास समितिकै सुर्य बहादुर पौडेलले भने, ‘यो तालिम लिनको धेरै नै ढिलो भइसकेको थियो, गाउँमा कतिपयले त घर बनाइसकेका छन, अव मैले बनाउने घरहरुमा चै यही सुरक्षित प्रविधि नै प्रयोग गर्न लगाउछु ।’
भुकम्प पछि पुनस्थापनका कार्यक्रमहरु संचालन गरिरहेको सस्था अक्सफाम र प्रयास नेपाल मिलेर बेनिघाट गाउँ विकास समितिका डकर्मीहरुलाइ भुकम्प प्रतिरोधी घर बनाउनको लागि लागि १ हप्ते तालिम दिइएको बेनिघाट गाविसका सचिव चुडामणी पुरीले बताए । प्रयास नेपालका इन्जिनियर अरुण रेग्मीले भने, ‘पुनस्थापनाका विभिन्न कार्यक्रमहरु संगसंगै हामीले दक्ष जनशक्ती उत्पादन गर्नको लागि गाउँमा पहिले नै ढुङ्गामाटो प्रयोग गरेर डकर्मी काम गरिरहेकाहरुलाइ लक्षित काम गरि तालिम दिएका हौँ । तालिम लिएका हरुलाइ डकर्मी काम गर्नको लागि एक सेट उपकरणहरु पनि निशुल्क दिएका छौँ ।’ भुकम्प प्रतिरोधी घर बनाउने तालिम लिएका डकर्मीहरुले अव बन्ने घरहरुमा काम गर्दा ज्याल लिएरै काम गर्नेछन भने घर बनाउनेहरुलाइ निशुल्क परामर्श दिने गरेका छन ।
हाल धादिङ जिल्लामा विभिन्न संघसस्थाले तालिम दिएर ४ हजार ८ सय भन्दा बढी दक्ष प्राविधिक तयार पारिसकेका छन । भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङका प्रमुख दिलिप भण्डारीले भने, ‘हाम्रो समन्वयमा विभिन्न संघसस्थाले धादिङका सवै गाउँ विकास समितिहरुमा १० दिनेदेखी ३ महिनेसम्मका तालिम दिएर ४८ सय भन्दा बढी दक्ष जनशक्ती तयार पारिसकिएको छ । ती मध्ये ३५ सय जना पहिले पनि डकर्मी काम गरिरहेका हरु छन ।’
गत वैशाख १२ गतेको विनाशकारी भुकम्पमा परेर घर भत्किएपछि भुकम्प प्रतिरोधी घर बनाउनको लागि धादिङमा ७० हजार ८ सय ४५ घरधुरी छनौट भएका थिए । त्यसमध्ये ६० हजार भन्दा बढीले अनुदान सम्झौता गरिसकेका छन । अनुदान सम्झौता गरेका मध्ये ६० प्रतिशतले पहिलो किस्ताबापतको ५० हजार बुझीसकेका छन भने ५ हजार ६ सय जनाले नयाँ घर बनाउन थालिसकेको भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङले जनाएको छ ।
२०७३ माघ १८ गते प्रकाशित