
२० माघ, धादिङ –
स्थानीय विकास मन्त्रालयले प्रोत्साहन भत्ता रोक्का गरेको भन्दै धादिङका गाविस सचिवहरूले काम ठप्प पारेका छन् । विहिबार प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरु सुनुवाई नभएर आदोलनमा उत्रने बताए ।
गाविस सचिव हकहित संरक्षण केन्द्र, धादिङका अध्यक्ष चुडामणि पुरीले मन्त्रालयलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि सुनुवाइप्रति चासो नदिएकाले काम ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको बताए । उनले भत्तासँगै चाँडै स्थानीय चुनाव गर्नुपर्ने, स्थानीय तहको पुनःसंरचनामा कर्मचारी समायोजन गर्दा एक श्रेणी बढुवा गर्नुपर्ने र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सचिवमाथि गरेको ज्यादतीविरुद्ध सुरक्षाको व्यवस्था गर्नुपर्ने माग पनि रहेको बताए ।
नेपाल सरकारबाट गाविस सचिवहश्रका लागि गतवर्ष स्वीकृत भएको कार्य सम्पादनमा आधारित भत्ता तुरुन्त उपलब्ध गराउनुपर्ने, सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तहमा मात्र गर्न उपयुक्त हुने, प्रदेश सेवामा खटाउँदा कम्तीमा १ श्रेणी बढुवा गरी समायोजन गर्नुपर्ने, स्थानीय निकायको चुनाव गरिनुपर्ने लगायतको माग गरेका छन् ।
२०७३ माघ २० गते प्रकाशित