
१ फागुन, धादिङ –
आठ वर्षपछि फागुन १४ गते हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु भएको छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको छ ।
चुनावका लागि धादिङमा पनि चुनावको चहलपहल बढेको छ । धादिङका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । क्याम्पस अगाडि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत सङ्गठनले भित्तेलेखन गरेका छन् । भने बैठक जस्ता कार्यक्रमहरु पनि गरिरहेका छन् ।
त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ ।
नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । आइतबार प्रकाशित हुने मतदाता नामावलीमा मंगलबार दाबी विरोध गर्न सकिने र त्यसमाथि छानबिन गरी फागुन ४ गते अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।
फागुन ५ गते मनोनयन दाखिला र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ भने फागुन ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मिश्रित प्रणालीबाट हुन लागेको मतदानमा सभापति कोषाध्यक्ष र सचिव प्रत्यक्ष चुनिने छन् भने बाँकी पद समानुपातिक पद्धतीबाट चुनिने छन् ।
२०७३ फागुन १ गते प्रकाशित