
फाइल फोटो
मनिष दुवाडी / ८ फागुन, धादिङ –
बेनिघाट गाउँ विकास समितिका करवीर चेपाङले आफु बुढो हुँदै गएपछि छोरा साजन चेपाङको नाममा सप्पै सम्पती नामसारी गरिदिए । छोरा साजन चेपाङले पनि घरब्यवस्था चलाउन र नयाँ घर बनाउनको लागि अलिकति जमिन बेच्ने सुर गरे । गाहकी पनि आइपुग्यो बेनिघाट गाउँ विकास मितिकै स्थानिय दीपक लोहनी ।

लोहनीले जग्गा किन्ने भएपछि धादिङको बेनिघाट ९ सलाङ स्थित पृथ्वीराजमार्ग नजिकैको ६ आना जग्गा पास गर्नको लागि चेपाङ परिवार धादिङवेशी आइपुगे । तर दीपक लोहनीको पुर्वयोजना बमोजिम चेपाङ परिवारबाट ६ आना जग्गाको ठाउँमा ४ रोपनी ६ आना जग्गा पास गराएर लिए ।
आफुहरुलाई थाहै नदिइ ६ आना जग्गाकै भाउमा ४ रोपनी ६ आना जग्गा पास गरेर दीपक लोहनीले चेपाङ परिवारको विल्लिवास उठाइदिए । बृद्ध चेपाङ करवीरले भने, ‘आफु बुढो हुँदै गए, अव घर धान्ने छोराले हो भनेर छोराको नाममा मैले जग्गा पास गरिदिए, छोराले पनि नयाँ घर बनाउन र घर खर्च चलाउनको लागि भनेर अलिकति जमिन बेच्ने भन्यो, म बुढोलाइ ठग्छन भनेर छोरालाइ अघि सारेको छोरालाइ समेत ढाँटेर सवै जमिन पास गरेर लिएछन ।’
चेपाङको जग्गा गैर चेपाङले झुक्याएर पास गरेको कुरा एक कान दुइ कान हुँदै गाउँभरि फैलियो । समाज बसेर मिलाउने प्रयास गरे । समाजको अगाडी जग्गा खरिद गर्ने दीपक लोहनीले पनि सवै जग्गा फिर्ता गर्छु भनेर कवोल पनि गरे तर भित्र भित्रै चेपाङ परिवारलाइ धम्क्याउन थाले । लोहनीले झुक्याएर पास गरेको ४ रोपनी जग्गा फिर्ता गर्नको लागि थप ४ आना जग्गा निशुल्क दिनुपर्छ भनेर चेपाङ परिवारलाइ धम्क्याउने थाले । चेपाङ अगुवा एवं बेनिघाटकै स्थानिय तिलक चेपाङले भने, ‘विगतमा पनि सोझासिधा चेपाङहरुलाइ गैरचेपाङहरुले विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आइरहेको बेलामा फेरी यो घटना सार्वजनिक भयो, यहाँ दीपक लोहनी मात्रै होइन, मालपोतका कर्मचारी र लेखापढी गर्ने ब्यक्तिको पनि मिलेमतो छ । ठगी गरेको थाहा पाएपछि जग्गा फिर्ता गर्ने त परको कुरा उल्टै थप जग्गा दिनको लागि धम्क्याउने काम भएको छ ।’
बाहिर समाजलाइ जग्गा फिर्ता गर्छु भनेर भनेपनि लोहनीले जग्गा फिर्ता गर्ने कुनै सुरसार नगरेपछि चेपाङ परिवारले बेनिघाट प्रहरी चौकीको सहयोगमा जिल्ला प्रशासन कार्यलय धादिङमा जग्गा फिता गराइदिन माग गर्दै निवेदन दिए । सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘हामीले बुझ्दा पनि सोझासिधा चेपाङलाइ झुक्याएर लेखापढी ब्यवसायीको मिलेमतोमा दीपक लोहनीले जग्गा खाएको भन्ने थाहा भयो, हामीले जिल्ला प्रहरी कार्यलय धादिङलाइ अनुसन्धान गरि उक्त जग्गा फिर्ता गराइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यलय धादिङले दुवैपक्षलाइ छलफल गराइ जग्गा फिर्ता गराइदिसकेको छ ।’
जिल्ला प्रहरी कार्यलय धादिङको प्रयास पछि चेपाङ परिवारले पुरै जग्गा फिर्ता पाएका छन । अहिले फेरी करवीरकी श्रीमती मनकुमारी चेपाङको नाममा लालपुर्जा नै नामसारी भएर आएको तिलक चेपाङले जानकारी दिए । दीपक लोहनीबाट जग्गाको नामसारी भएर मनकुमारीको नाममा लालपुर्जा बनेपनि जग्गा नापजाँच हुन भने बाँकी रहेको छ ।
जग्गा फिर्ता पाएपछि मनकुमारी चेपाङले भनिन, ‘पढ्न लेख्न नजाने कै कारण यत्रो दुःख पाइयो, हामी गरिवलाइ नै रहेछ सवैले दुःख दिने ।’ यता चेपाङको जग्गा खरिद गर्ने दीपक लोहनीले भने आफुले सवै जग्गा फिर्ता गरिसकेको बताएका छन । जग्गा किनवेचमा केही असन्तुष्टी भएको थियो जग्गा लेनदेन नै गरेर सवै जग्गा फिर्ता गरिसकेको छु ।’
पछिल्लो समयमा विपन्न बर्गका सोझासिधा जनतालाइ झुक्याएर ठगी गर्ने परम्परा मौलाउदै गएको छ । यसअघि केही वर्ष पहिला बेनिघाटकै गोमती खोला छेउको राजमागको जग्गा पनि चेपाङलाइ झुक्याएर पास गरि पछि फिर्ता गरिएको थियो । विनाशकारी भुकम्प पछि सहयोग गर्ने नाउमा भुमाफीयाहरु गाउँ पसेको र सोझासिधा गाउँलेहरुलाइ झुक्याएर र विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गिरोह नै सक्रिय हुन थालेका छन् ।
२०७३ फागुन ८ गते प्रकाशित