Sat. Jul 5th, 2025

इट्टाभट्टामा बच्चाको स्याहारसुसार

child copy
शंकर श्रेष्ठ / १७ फागुन,  धादिङ –

 

रंगी बिरङ्गी अक्षर र शैक्षिक सामाग्रीहरु । भित्ताभरी चित्रहरु टाँसिएका छन् । बेलुनहरु झुण्डाइएको छ । ‘क, ख, रा..’ १, २, ३…’ लेखिएका ठुल्ठुला अक्षरले कोठा सजिएका छन् । स–साना बच्चाहरु कोही खेलिरहेका हुन्छन् कोही सुतिरहेका हुन्छन् ।

यो दृष्य एभरेष्ट इट्टा उद्योगमा स्थापना गरिएको प्रारम्भीक बालविकास केन्द्रको हो । इट्टा उद्योगमा काम गर्ने मजदुरका बालबच्चा दिनैभरी यही खेल्छन्, यही सुत्छन्, यहि सिक्छन्, साँझ आफ्नो झ्याउलीमा फर्कन्छन् । दिनभरी आमाबुबाले जहाँ काम गर्छन् त्यहि धुलोमाटो खेल्न बाध्य बालबालिकाको दैनिकी अहिले फेरिएको छ ।

‘बालबालिका अहिले आमाबुबासंग बस्नै मान्दैनन् । उनीहरुलाई साथीसंग रमाउने बानी परिसकेको छ । मान्छे नचिनिने गरी धुलोमैलोमा भातपकाई खेल्ने बालबालि हिजोआज भाँडाकुटी खेलाउन र कखरा सिक्न व्यस्त छन् । अभिभावकहरु भन्छन् ‘छोराछोरी भेट्ने भनेको छ विहान बेलुका मात्रै हो ।’
‘उतै साथीसंग खेल्न पाउछ, खाजा पनि खान दिन्छ, त बच्चाहरु घरमा बस्नै मान्दैन’ दाङकी विमला पुनले खुसी व्यक्त गरिन् । विमला गत ३ वर्षदेखि थाक्रे स्थित एभरेष्ट इट्टा उद्योगमा काँचो इट्टा बोक्ने काम गर्दै आएकी छिन् । उनले काखमा डेढ वर्षको छोरो छ । बालविकास केन्द्रमा छोरा पठाएपछि दिनभरी निर्धक्क काम गर्न पाइएको र कमाई पनि बढेको विमलाले बताइन् ।

एभरेष्ट इट्टा उद्योगमा संचालनमा आएको बालविकास केन्द्रमा मात्रै अहिले ४५ जना बालबालिका छन् । बालबालिकालाई धुँवाधुलो र फोहोर बाट जोगाउन उद्योगकै लगानीमा केन्द्र स्थापना गरिएको हो । बालबालिकाको हेरचाह र स्याहार सुसारको लागि ग्लोबल फेयरनेस यिनिसियटिभसंगको साझेदारीमा प्रयास नेपाल नामक गैर सरकारी सस्थाले २ जना कर्मचारीको व्यवस्था मिलाइदिएको छ ।

बालविकास केन्द्रमा बालबच्चा खेल्न थालेदेखि आफुहरुले निर्धक्कसंग काम गर्न पाएको मजदुरहरु बताउँछन् । ‘भुईमा राख्यो लड्दा भन्ने डर, काखीमा च्यापेर इट्टा कसरी बोक्ने ? २ छोरी र एक छोराकी आमा कलाश्री वि.क भन्छिन्् ‘बच्चा च्यापेर काम गर्न सारै गारो हुन्थ्यो, अहिले त दिनभरी ढुक्कसंग काम गर्न पाएका छौं ।’ आफ्ना छोराछोरीलाई केन्द्रमा राखेर मिसहरुले स्याहार सुसार गरेकोमा कलाश्री निकै खुसी छन् ।

‘नानी लिएर काम गर्दा चिसो लाग्ने, रुघाखोकी लाग्ने भइरहन्थ्यो अहिले चार महिना भयो विरामी भएकै छैन’ सुनिता चौधरीले खुसी व्यक्त गरिन् । एक वर्ष माथीका दुधे बालबालिकाहरुलाई उनका आमाहरु दिउसो एक पटक दुध चुसाउन केन्द्रमा नै पुग्ने गरेका छन् । केन्द्रमा पुगेका मजदुरका बालबालिकालाई कखरा सिकाउने, १,२,३.. गन्ती सिकाउने र संगै मनोरञ्जन गराउने गरिएको छ ।

जिल्लाको ५ वटा इट्टा उद्योगले बालविकास केन्द्र नै स्थापना गरेर मजदुरका बालबालिकाको स्याहार गर्न थालेको छ । एभरेष्ट इट्टा सहित नौविसेको रक्तकाली इट्टा उद्योग, जिवनपुरको हिमाल इट्टा उद्योग, थाक्रेको यति टायल उण्ड ब्रिज प्रा.लि. र पिडाको राजधानी इट्टा उद्योगमा ग्लोबल फेयरनेस र प्रयास नेपालले बेटर ब्रिक नेपाल कार्यक्रम संचालन गरिरहेको छ । बालविकास केन्द्रको शैक्षिक र प्राविधिक व्यवस्थापनको जिम्मेवारी लिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

बालबालिकाको शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर बालविकास केन्द्रको स्थापना गरिएको एभरेष्ट इट्टा उद्योगका संचालक रामकुमार चापागाईले बताए । बालश्रम निषेधित क्षेत्र बनाउने अभियान स्वरुप यस्तो कामको थालनी गरिएको पनि उनले बताए । एभरेष्ट इट्टा उद्योगमा हाल १ सय २० परिवारका पाँच वर्ष मुनीका ४५ जना बालविकास केन्द्रमा र विद्यालय उमेरका ३० जना नजिकैको विद्यालयमा पढ्न थालेका छन् ।

बेटर ब्रिक कार्यक्रम संचालन गरिएका पाँच उद्योगमा विभिन्न जिल्लाका करिब ९ सय मजदुर कार्यरत रहेका छन् । तीनहरुका एक सय ५० विद्यालय उमेरका र एक सय २५ पाँच वर्ष मुनीका बालबालिका रहेको बेटर ब्रिक कार्यक्रमका फिल्ड संयोजक प्रदिन श्रेष्ठले जानकारी दिए । ती मध्य रामेछाप, सर्लाही, मकवानपुर, हेटौडा, पर्सा रोल्पा जिल्लाका धेरै छन् ।

विद्यालय उमेर पुगेर नजिकैको सरकारी विदालयमा पढ्दै गरेका इट्टाभट्टाका मजदुरका बालबालिकालाई प्रयास नेपालले आइतबार झोला, स्कुल पोषाक, जुत्तामोजा सहित शैक्षिक उपलब्ध गराएको छ । विद्यालय पोषाक र शैक्षिक सामाग्री नहुँदा विद्यालय जान नमानेकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो ।

२०७३ फागुन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: