
रविना पौडेल / २८ फागुन, धादिङ –
विदेश गएर प्रशस्त पैसा कमाउने सोच बोकेका युवा युवतीहरु आजकाल आफ्नै स्वरोजगारीमा रमाउन थालेका छन् । माध्यमिक कक्षामा पढ्दा पढ्दै विदेश जाने सपना बुन्ने गरेका युवा युवतीका लागि धादिङ भुलभुलेका स्वरोजगार युवाहरु नमूना बनेका छन् ।
धादिङको नीलकण्ठ नगरपालिका २ भुलभुलेका युवाहरुको मुख्य रोजगारीको श्रोत वैदेशिक रोजगार बन्दै आएको थियो । अझै पनि यहाँको ६५ घरधुरी मध्ये ४० घरधुरीका युवाहरु आफ्नो परिवारको आर्थिक भारलाई कम गरी आर्थिक अवस्था सुधार गर्न, परिवारको भविष्य सुनौलो बनाउने सपना बोकेर विदेश पलायन भएका छन् । तर के सबैका सपना पूरा भएका छन् त ?
२०६१ सालमा कतार गएका भ्ुालभुलेका निरबहादुर गुरुङ भन्छन् ;—“अरुले कमाएको कुरा सुनेर रुखमा फलेको पैसा नै टिपौँला भन्ने सोचेर कतार गएँ । तीन दिन सम्म खाना त के पानी पनि खान दिएन । भोक र तिर्खालाई ट्वाइलेटमा झरेको पानी पिएर मेटाउनु पर्यो ।”
यस अघि गरुङले १२ वर्ष डकर्मी काम गरेर दिनमा २ देखि ३ सय कमाउँथे । सबै विदेश गएको देखेर उनी पनि कतार तिर लागे । आफ्नो देशमा जस्तो सहज कहाँ हुँदो रहेछ र ? भाषा नबुझेर धेरै दुख भयो । हामीले बोलेको उनीहरुले नबुझदा सोचेको जस्तो काम गर्न सकिएन । हाम्रा आवश्यकताहरु पुरा हुन सकेनन् । तोकेको जति तलब दिएन । आफ्ना मागहरु राख्दा काम नगर्ने भए नेपाल फर्केर जा भन्थ्यो । जसोतसो ऋण गरेर बल्ल म समेत २५ जना नेपाली गएका थियौँ ऋण चुक्ता नहुनुञ्जेल त्यहीँ काम गरेर सबै जना तीन वर्षमा फर्कियौँ ।”
उनले नेपालमा आएर पहिला गरेको काम फेरि सुरुगरँे । ३ वर्ष ठेकेदारसँग काम गरे । उनले पछि अलिअलि फर्मा कनेम्सनको सामानहरु जुटाएर अहिले ठेकेदारको रुपमा कमाई गरिरहेका छन् । काम भयो भने महिनामा ३० हजार देखि ५० हजार सम्म आम्दानी नेपालमा नै बसेर गरिरेका छन् ।
आफूले भोग्नु परेको दुःख कुनै नेपालीले पनि भोग्नु नपरोस । उनी भन्छन् :—“आफ्नो देशलाई बेवास्ता गरेर विदेशमा जानु भन्दा यही देशमा बसेर पसिना बगाउ । मकै केलाउने मेसिन छ, बारी खन्ने मेसीन पनि छ जे जे गर्छु भने पनि यही छ । तर यदी जाने नै हो भने सिप सिकेर मात्र जाउ । जसको हातमा सिप छ उसले मात्र विदेश गएर सोचेको जस्तो प्रगति गर्न सक्छ ।”
यसैगरी धादिङ जिल्ला धुवाकोट गाउँ विकास समिति वडा नं १ की प्रमिला तामाङ साउदीमा गएर भर्खर नेपाल फकिएकी छिन् । उनी हस्पिटलमा किल्लीनरको रुपमा काम गर्न २ वर्ष अगाडि साउदी गएकी हुन् । तर त्यहाँ गएपछि उनले मेन्टल अस्पतालमा काम गनुपर्यो । उनी भन्छिन् —“ न भनेको बेलामा खान पाएँ, न आराम । तोकेको जति पैसा पाईदैन । बिरामी भएको बेलामा औषधि उपचार र आराम पाउन गारो हुन्छ । अर्काको देशमा उनीहरुले दिए खाने लगाउने हो नदिए पाइँदैन । उनीहरुको समयमा चल्नु पर्छ । दिनमा १२ घण्टा सम्म काम गर्नु पर्छ । विशेष गरी छोरी मान्छेलाई काम धेरै समस्या हुन्छ ।”
सकेसम्म अरुको ठाउँमा गएर दु;ख पाउनु भन्दा आफ्नै देशमा काम गरेको राम्रो हुन्छ । विदेशमा जत्तिकै श्रम बगाउने हो भने हाम्रै देशमा बिदेशको भन्दा दोब्बर आम्दानी गर्न सकिन्छ भन्ने उनको भनाई छ । यी त प्रतिनिधि प्रात्र मात्र भए धनको सुन्दर सपना साचेर विदेशीनेहरु या त ठगीमा परेका छन् या त्यतिकै फर्केका छन् ।
आफ्नै परिवारसँग बस्न पाइन्छ, कसैको हाँसो, हेलाँ र कसैको अपमान सहनु पर्दैन त्यसैले बिदेश जानु भन्दा आफ्नै देशमा श्रम बगाउनु असल हुन्छ भन्ने उदाहरण बनेका छन् युवाहरु ।
२०७३ फागुन २८ गते प्रकाशित