Sat. Jul 5th, 2025

सल्यानटारकी बन्दना कुमाल २ वर्ष देखि दाम्लोमा बाँधिएर बस्न बाध्य

Bandana kumal 1 copy

मनिष दुवाडी / ३० फागुन,  सल्यानटार (धादिङ) –

 उमेरले भर्खर ६ वर्षकी भइन बन्दना कुमाल । यो बेला साथीभाइसंग खेल्ने र विद्यालय जाने उमेर हो तर धादिङको सल्यानटार गाउँ विकास समिति वडा नं ७ की बन्दना कुमाल भने आफ्नै घरमा दाम्लोमा बाँधिएर बस्न बाध्य छिन् ।

भुकम्प जानुअघि सम्म साथीभाइसंग मिलेर युकेजीमा पढ्न जाने बन्दना अहिले घरमा घरमै बाँधिएर बस्नुपरेको हो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पको त्रासले मानसिक सन्तुलन गुमाउन पुगेकी बन्दना भुकम्प गएदेखी नै घरमै दाम्लोमा बाँधिएर बस्नुपरेको छ । त्यसो त बन्दनालाइ आफु दाम्लोमा बाँधिएको छु भन्ने कुनै पत्तो छैन । न त उनी दिशा पिसाव आयो भन्न सक्छिन न त कसैगंग दोहोरो कुराकानी नै ।

२०७२ बैशाख १२ गते घर भन्दा अलि पर रहेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको छेवैमा खेलिरहेका बेला अकस्मात भुकम्प गयो, सवैजनाको भागाभाग र रुवावासी चल्यो । भागाभाग र रुवावासी चलेको बेला बन्दना पनि रोएको र त्यही बेला देखि मानसिक सन्तुलन गुमाउन पुगेको बन्दनाकी हजुरआमा धनकुमारी कुमालले बताइन । उनले भनिन, ‘म नातिनीलाइ लिएर स्वास्थ्य केन्द्र गएकी थिए, बन्दनालाइ बाहिर छाडेर भित्र विरामी भेट्न पसेका बेला अकस्मात भुइचालो गयो, वरिपरिका घरहरु भत्किए, अस्पतालपनि भत्कियो, म आत्तिदै नातिनी भएको ठाउँमा आउँदा नातिनी रोइरहेकी थिइन, एक दुइ दिन पछि त नातिनी एकोहोरो भइन, बोलाउदा पनि नवोल्ने, दिशापिसाव गरेको पनि थाहा नपाउने, बोलाउदा नसुन्ने भइन ।’

Bandana kumal 2 copy

६ वर्षकी अवोध बालिकालाइ घरमा एक्लै दाम्लोमा बाँधेर राख्न कुन अभिभावकको मनले मान्दो होला तर पनि बन्दनाको परिवारमा बाध्यता छ । निकै चकचके स्वभावकी बन्दनालाइ खुल्ला छोडेर राख्नै सकिदैन । ‘एकछिन छोडिदियो भने कुदेर कता कता पुग्छ, घर फर्कन जान्दैन, कुन ठाउँमा पुगेको छु भनेर केही थाहा पाउदैन, कसैसंग दोहोरो कुराकानी गर्न सक्दैन ।’ हजुरआमा धनकुमारीले भनिन, ‘घर नजिकै एकातर्फ सडक छ, अर्को तर्फ भीर छ, छोडिदिउ भनेर लड्ेर मर्ला भन्ने डरले घरमा बाँधेर राख्नुपरेको छ ।’ घरमा कोही एकजना हेर्ने मान्छे मात्र भएको बेलामा खुल्ला छोडिदिए पनि मेलापात गर्न जाँदा र घर छोडेर जाँदा बन्दलालाइ घरकै पिढिमा बाँधेर जाने गरेको उनले बताइन ।

बन्दनाको उपचारको लागि परिवारले सक्दो प्रयास पनि गरेका छन । आफुसंग उपचार गर्ने पैसा नहुँदापनि ऋण गरेर नातिनिको उपचार गराउँदा निको नभएपछि बन्दनाको परिवार चिन्तामा परेका छन । बन्दनाकी आमा कमला कुमालले भनिन, ‘हाम्रो आम्दानी र कमाइको कुनै स्थायी स्रोत छैन, श्रीमान गाडी चलाउनुहुन्छ त्यो कमाइ नुनतेलमै ठिक्क हुन्छ,  खेतवारीपनि धेरै छैन, आफन्त र छिमेकीसंग ऋण र सापटी गरेर ५ लाख रुपैया त उपचारमै खर्च गरिसक्यौँ तर पनि बन्दनालाइ निको पार्न सकिएन ।’

अस्पतालको उपचारले निको नभएपछि उनलाइ घरमै बाँधेर राख्नुपरेको बन्दनाकी आमाले बताइन । कमलाले भनिन, ‘एकछिन छोड्न मिल्दै कुदेर भागिहाल्छ, आफु घरमा भएको बेलामा त संगै राख्छु, तर मेलापात र घाँसदाउरा गर्न गएको माया लाग्दा लाग्दै पनि पिढिको खाँवोमा बाँधेर जान्छु ।’

अस्पतालको औषधि र उपचारले केही प्रगती नभएपछि बन्दनाकी हजुरआमाले आफुले थाहा पाएजतिको देवी देउताको मन्दिरमा लगेर भाकल सहित पुजा पाठपनि गरिसकेकी छिन । तर बन्दनालाइ निको हुने कुनै छाटकाँट छैन । घरमै बाँधेर राख्नुभन्दा त बरु यस्तै बालबच्चाहरु राख्ने ठाउँ भए त्यही लगेर राख्ने कमलाले बताइन । उनले भनिन, ‘आफ्नै छोरीलाइ आँफ्नै हातले खाँवोमा बाँधेर यताउती हिड्न पर्दा कम्ता नरमाइलो लाग्दैन, के गर्नु बाध्यता छ, कुनै त्यस्तो संघसस्था र विद्यालय भएमा त्यही लगेर राख्ने विचार त छ तर आफुहरुलाइ त्यो बारेमा केही थाहा छैन ।’

२०७३ फागुन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: