
२ चैत, धादिङ –
त्रिशुुली नदिमा रातारात अबैध उत्खनन् बढेको छ । तस्करहरुले दिउँसोमा भन्दा रातीको समयमा प्रशासनको आँखा छलेर नदिमा लुट मच्चाउन थालेको हो ।
त्रिशुली नदिको गल्छी, बेल्खु, घाटबेसी र मलेखु आसपासबाट रातीको समयमा ठूला स्काभेटर प्रयोग गरेर नदि उत्खनन् भइरहेका छन् । विभिन्न माध्यम र साधनको प्रयोग गरि विशेषगरी यी क्षेत्रहरुबाट रोडा ढुंगा उत्खनन् र निकासी भैरहेको स्थानीयहरुले बताएका छन् ।
त्रिशुलीमाथी भइरहेको अबैध तथा अबैधानिक उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारीलाई स्मरणपत्र बुझाएका छन् । त्रिशुली नदीमा उत्खनन् तथा लुटको श्रृङखला भएकोले यस्ता क्रियाकलाप रोक्न सरकारसंग माग गरिएको संजालका संयोजक उत्तम कँडेलले बताए ।
नदिजन्य बस्तुको उत्खनन र निकासी स्थानीय प्रशासनले रोक लगाएको भनेपनि अबैधरुपमा अहिले पनि चलिरहेका छ । स्थानीय स्तरमा यसको निकासी र उत्खनन बन्द गरिएको भए पनि अबैध रुपमा यसको निकासी वढि रहेका हो । उत्खनन्मा संलग्न गराइएका केही गाडिहरुलाई नियन्त्रणमा लिएर जिल्ला बिकास समितिमा बुझाउदै आएको प्रहरीले जनाएको छ । तर गत दुई महिनादेखि बढेको उत्खनन् भने कम भएको छैन ।
महंगो मूल्यमा बिक्रि गर्ने उदेश्यले ठेकेदार र क्रसर उद्योग सञ्चालक र ट्रिपर तथा ट्याक्टर धनीहरुले लुकेर अबैध धन्दा गरिरहेका छन् । हाल त्रिशुली नदिको वेल्खु, जिन्टे, घाटवेशी, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपल, आँखु लगायतका वगरहरुमा रातारात उत्खनन् र श्रोतहरुको ओसारपसार भइरहेको छ ।
हिजोआज मध्य वर्षातमा जस्तै त्रिशुली नदी धमिलो न धमिलो वनेको छ । जलपर्यटन, धार्मिक सास्कृतीक परम्परा र जैविक विविधतालाई समेत नराम्ररी धक्का पर्ने गरी लेदो माटो नदीमा मिसाईएको छ । संयोजक कँडेलले भने, ‘नदीको सतह दविएको मात्र नभई ठाँउठाँउमा खोलाको धार नै परिवर्तन गरिएको छ ।’
नदिबाट दर्जनौ मेशिनहरुले लाखौ मुल्य बरावरको बालुवा, ढुङगा र गिटी दैनिक सयौ टिपको संख्यामा उत्खनन् र ओसारपसार हुँदै आएको छ । अबैध रुपमा उत्खनन् भइरहेको सबै खानी तत्काल बन्द गर्न र अवैध उत्खनन्लाई नियन्त्रण र निग्रानी गर्न सरोकारवालाहरु समेत रहेको अनुगमन टोली बनाएर अनुगमन गरिएको बताइएपनि त्यसको प्रभाव देखिएको छैन ।
‘गैर कानुनी उत्खनन् र अवैध धन्धाका कारण आर्जित कालो धनले सामाजीक शान्ती सुरक्षा समेत खल्वलिदै गएको त्रिसुली बचाउ अभियान्ताहरु गुनासो गरेका छन् । अबैद उत्खनन्को विषयमा कुरा उठाएकै कारण पटक पटक धाकधम्की आइरहेको त्रिसुली बचाउ साझा संजालका एक सदस्यले बताए ।
जलश्रोत ऐन ०४९, सर्बोच्च अदालतको फैसला, स्थानीय बिकाश मन्त्रालयको परिपत्र, जिबिसको सम्झौतामा समेत बगिरहेको खोला र वगरहरुमा ठुला मेसिन प्रयोग गर्न मिल्दैन भन्ने प्रष्ट्र उल्लेख छ । अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी पाएका दल तथा प्रशासनिक निकाय नै गैरजिम्मेवार भएकोले नदिमा अबैध दोहन नरोकिएको त्रिशुली बचाउ अभियान्ताहरुले आरोप लगाएका छन् ।
संजालले विगतदेखि नै जिल्ला प्रशासन कार्यालय लगायत प्रधानमन्त्री, मन्त्रीहरु, विभाग, विभिन्न पार्टी र आवस्यक निकायहरुमा समेत पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।
२०७३ चैत २ गते प्रकाशित