
अर्जुन श्रेष्ठ / ८ चैत, धादिङ –
विदेशमा कमाएर स्वदेशमा सुखसँग बस्ने सपना बोकेर विदेशिएका खाल्टेका चेतनिधि अगस्ति अहिले सम्पर्क विहिन छन् । कमाएर साहुँको ऋण तिर्छु, अनि सुखले घरपरिवारसँगै रमाउँला विदेश जानु अघि उनले आफ्नी छोरी पार्वती अगस्तिलाई यस्तो भनेका थिए । तर अहिले एकाएक बेखबर भएपछि अगस्ति परिवारमा न त निद्रा नै छ न त भोक नै । मलेसिया गएको बुवा नफर्केपछि पार्वती अगस्तिलाइ यो प्रश्नले सताउन छाडेको छैन ।
चेतनिधि अगस्ति एक अनुभवि किसान थिए । तर गर्दै आएको कृषि कर्मबाट बुबा आमाको उपचार र घरायसी खर्चमा लागेको ऋण तिर्न धौ धौ भए । त्यसैले, २०६५ साल मंसिर १२ गते पैसा कमाएर साँहुको ऋण तिर्ने आशले मलेसिया गएका थिए । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै भयो अगस्तिलाई । १ लाख ५० हजार तिरेर मलेसिया गएका उनले सीओवान कम्पनीमा भनेको काम र दाम दुवै पाए । आम्दानी राम्रो भएपछि लागेको १२ लाख ऋण ३ वर्षमै तिरे ।
लागेको ऋण तिरिसकेपछि बुवासँगै बस्न पाइन्छ भन्ने छोरी पार्वतीलाइ लागेको थियो । तर ३ वर्ष गनेर बस भन्ने बुवा, ६ वर्षपछि मात्र नेपाल फर्किए । अगस्तिको नेपाल आगमनसँगै परिवारमा खुषी छाएको थियो । बुवा विदेश गएपछिमात्र गणेश अगस्ति धर्तिमा पाइला टेकेका थिए । त्यसैले, बुवाको दर्शन गणेशका लागि सौभाग्य थियो । परिवारमा खुषीको सिमै रहेन । परिवारमा चेतनिधिको एक महिनाको साथ अविष्मरणीय बन्यो ।
६ वर्षसम्म नियास्रिएर बसेका श्रीमती निरादेवी अगस्ति तथा स परिवार नै चेतनिधिसँगै रमाउन चाहन्थे । तर मलेसिया फर्कने अगस्तिको जिद्धिलाई परिवारले जित्न सकेन । छोरी पार्वतीले राहदानी लुकाउँदा समेत बुवालाई नेपालमा परिवारसँगै राख्न सकेनन् । अगस्ति फेरि पनि मलेसिया उडे । राम्रो काम र दाम हुने बताउने अगस्तिले यो पटक भने पैसा पठाउन छाडे । परिवारसँगको सम्पर्क पातलिन थाल्यो ।
सधै जसो फोन गर्ने अगस्तिले एक्कासी फोन गर्न छाडे । साता पन्ध्र दिनमा बल्ल तल्ल आवाज मिसाउन पाइन्थ्यो । आकल झुकल फोन गर्दापनि पैसा पठाइदेऊ मात्र भन्थे । छोरी पार्वती भन्छिन् – यहि कात्तिकमा ऋणपान गरी ८० हजार रकम खोजेर पठायौं । तर २ महिनापछि बेपत्ता भए । न नेपाल आए न सम्पर्क नै गरे । बुवाको यादले त सताइ रहेकै थियो । हिजो आज त झन ऋणले पनि सताउन थाल्यो ।
बुवा बेपत्ता भएपछि स्वदेश तथा विदेशमा चिने जानेका सबैलाई खोजी गर्न आग्रह गरेकी छन् । पार्वती भन्छिन् प्रतिक्षाको फल मिठो हुन्छ । मेरो बुवा अवस्य नेपाल फर्किनेछ । हामी सबैको खुषी बनेर ।
भुकम्पले घर भत्कियो टहराकै बास छ । श्रीमानको प्रतिक्षामा रहेकी निरादेवीका आखाँ ओभानो हुन छोडेको छैन । बाटो हेरेको महिनौ भयो । त्यहि बाटो हजारौ मानिसहरुको आवत जाओत भइ रहेकै छ । तर अगस्ति फर्किएको छैन ।
मलेसियामा श्रीमान वेपत्ता भएपछि परिवारको पुरै जिम्मेवारी निरादेवीको शिरमा छ । आफै रोगी मान्छे । श्रीमानको चिन्ताले दिन प्रति दिन झन कमजोर बनाएको छ । विरामी भएर लड्दा समेत सुख दुःख सँगसँगै गरौला भन्ने श्रीमान साथमा छैन ।
२०७३ चैत ८ गते प्रकाशित