
सरिता श्रेष्ठ / २७ माघ, धादिङ –
उत्तरी धादिङको वसेरी गाविस वडा नं. ४ का आसमान गुरुङ साउदीमा हराएका छन् । धन कमाएर परिवारलाई सुखसँग पालौला भनेर विदेशीएका आसमान एक महिनाअघि बिरामी परेका थिए ।
श्रवणशक्ति गुमाएका आसमान गत पुष पहिलो साताबाट साउदी अरबको रियात बाट हराएको आशमानका दाई सकराम गुरुङले बताए । होटलमा वेटर कामको लागि भनेर २०७३ साउन २८ गते साउदी स्थित रियात पुगेका थिए । पुषको २ गतेबाट सम्पर्कमा सम्पर्कमा नआएका हुन् ।
साउदीमा भाई विरामी परेको बारे एक महिना अघि नारायण कटुवालले फेसबुकमा फोटो राखेपछि मात्रै थाहा पाएको सकरामले बताए । विदेशमा मानसिक सन्तुलन गुमाएर विरामी परेका भाईको खोजी गरिदिन सकरामको परिवार सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय र विभिन्न संघसस्थामा हारगुहार गरिरहेका छन् ।
साउदीमै कार्यरत नारायण कटवालले विरामी आसमानलाई साउदीको रियातकै सडकमा हिड्दै गर्दा भेटेका थिए । मानसिक सन्तुलन गुमाएर सडकमा हिड्दै गरेको मान्छे नेपाली नै भएको थाहा पाएपछि नारायणले आसमानको फोटो खिचेर ‘यो साथीलाई कसैले चिन्नु भएको छ भने भनि दिनु होला,केहि पनि नबोल्ने अनि दिमाग पनि ठिक नभए जस्तो भएको ले बोल्दैन र को हो भनेर छुट्याउन गार्हो छ’ भनेर फेसबुकमा पोष्ट गरेपछि आसमानको अवस्था बारे परिवारले थाहा पाएका थिए ।
विरामी अवस्थामा नेपाली भेटेपछि नारायणले २ दिन आफुसंगै राखेका रहेछन् । नारायणले भने ‘बाटोमा भेटेपछि २ दिन क्वाटरमा राख्यौ । तेश्रो दिन क्वाटरबाट निस्केछ त्यसपछि भेट्टाएनौं ।’ पुलिसले पक्रेको छ की भनेर पनि पुलिसमा बुझियो, पुलिसमा पनि छैन ।’ नारायणका अनुसार आसमानले निर्माण सम्बन्धी काम गरेका थिए । त्यतिबेला आसमानले कालो र सेतो चेक स्कार्फ टाउकोमा बेरेका छन् भने खैरो सुइटरमा कालो जिन्स पाइन्ट लगाएका छन् ।
आसमानका दाजु सकरामले भाईको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै सुचना तथा परामर्श केन्द्र धादिङमा पनि निवेदन दिएका छन् । आसमानको खोजी गरी अवस्था पत्ता लगाइदिन साउदी स्थित रहेको नेपाली दुतावास र पिएनसिसि भन्ने संस्थासंग आग्रह गरिएको सुचना तथा परामर्श केन्द्रका गंगा सुवेदीले बताइन् । धादिङ बसेरीका आशमानका श्रीमती र १ छोरी छ । नजाउ भन्दा मानेन, पैसा कमाएर ल्याउछु भनेर जानुभयो, ४ महिनाको छोरीको मुख समेत देख्न पाउनुभएको छैन । जसरी पनि मेरो बुढा खोजिदिनुस्’ श्रीमानको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै धादिङबेसी आइपुगेकी आसमानकी श्रीमतिले आग्रह गरिन ।
२०७३ साउनमा साउदी अरव गएका आशमान गुरुङ कार्तिक महिना सम्म परिवारको सम्पर्कमा थिए । आशमानको दाई सकराम गुरुङका अनुसार सम्पर्क गर्दा कामको वोझ वढी भयो समय समयमा वेहोस हुने गर्छु, साह्रै गाह्रो भयो भनेका थिए । उनले भने ‘त्यसपश्चात मेनपावरलाई सम्पर्क गर्दा कम्पनीले मेडिकल लान्छ भाइको चिन्ता नगुर्न भनेको थियो, हामी मेनपावरको भरमा प¥यौ तर अहिले भाई बौलाएर हरायो भन्ने पो खबर आयो ।’
पासपोर्ट नम्वरः ०९४३३८४५ भएका आसमान २०७३ साउन २८ गते ललितपुरको जावलाखेल स्थित अक्सफोर्ड इन्टरनेशनल प्रा.ली नामको मेनपावर मार्फत साउदी पुगेका थिए । कसैले साउदी अरेवियाको कुनै ठाउँमा देख्नुभयो भने सम्पर्क गरिदिनुस् है भन्दै आसमानका दाजु सकरामले फोन नम्बर समेत छोडेका छन् । ००९७७– ९८१००३७२५३, ९८६१७०३११४ मा अथवा सुचना तथा परामर्श केन्द्र धादिङको फोन नम्बर ०१०–५२०४९३ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
२०७३ माघ २७ गते प्रकाशित