
१५ चैत, धादिङ –
धादिङको धुनीबेसी नगरपालिका स्थित छत्रेदेउरालीका स्थानीयहरु लोप हुदै गएको खैँजडी भजन संरक्षणमा जुट्न थालेका छन् । दुनियाँ पप र रकमा झुमिरहेकै बेला उनीहरु पुरातन संस्कृति जोगाउन तल्लिन देखिएका छन् ।
नेपाली समाजमा पाश्चात्य संस्कृतिको बोलवाला बढीरहेकै बेला स्थानिय युवा तथा बृद्धबृदाहरु भने आफ्नो राष्ट्रको मौलिक संस्कृतिलाई मर्न दिन हुन्न आगामी पुस्तालाई पनि हस्तान्तरण गर्दै लानु पर्दछ भनेर लागि परेका छन् ।जसलाई सबै गाउँबासीले सराहनिय मानेका छन् । उनीहरु स्थानिय बच्छलादेवी ज्वालामुखी मन्दिरको प्रांगडमा प्रत्येक शनिवार भजन गाएर नाच्ने गर्दछ । उमेरले ८३ बर्ष काटेका तोयानाथ रिजालले खैंजेडी भजन भट्याउँदा सिंगो गाउँ नै मन्त्रमुग्ध हुन्छ ।
हरेक शनिवार बिहान बत्सलादेवी प्रांगणमा हिजोआज खैजडी भजन सुन्नकै लागि पनि भीड हुन थालेको छ । उमेरले ८ दशक काटिसकेका रिजाल उत्साहित हुदै भन्छन, ‘यो मैंले जानेको केही कुराहरु पछिल्लो पुस्तालाई हस्तान्तरण गरेर मर्न पाए सन्तोष मिल्थ्यो ।’ रिजाल खैजडी भजनको लागि जिल्लाभरी नै कहलिएका व्यक्ति हुन । तर, केही बर्ष अघि देखि युवाहरुको विदेश पलायन र पाश्चात्य संस्कृतिप्रतिको मोहका कारण उनको खैंजडी भजन निश्कृय नै बनेको थियो ।
मनभरी आफ्नो कला र संस्कृतिलाई बचाउने अभिलाषा बोकेका ८३ बर्षीय तोयनाथ रिजालको अभिलाषा यसकारण पनि पुरा भएको थिएन कि उनका उमेरमा उनका सहपाठीहरु धेरैजसो परलोक गइसकेका थिए ।तर उनको यो इच्छालाई पुरा गरेका छन स्थानिय युवा एवम समाजसेवीहरुले ।जसले उनको सीप ज्ञान र कलालाई आगामी पुस्तालाई हस्तान्तरण गर्ने प्रणका साथ लागिपरेका छन् ।‘आफूलाई आफ्नो संस्कृति प्यारो लाग्छ चाहे दुनिया जति सुकै पाश्चात्यकरण होस’, स्थानिय युवा गोकुल पौडेल भन्छन ।
उनी हरेक हप्ताजसो काठमाडौबाट उक्त भजनमा साथ दिनको लागि छत्रेदेउराली पुग्ने गर्दछन् । ‘आफ्ना पिताजीले शुरु गरेको अभियानलाई आफूले सक्दो सहयोग गर्दै आएको र बेलाबेलामा काठमाडौबाट गाउँ पुगेरै खैंजडी भजनमा सहभागी हुने गरेको बताउँदछन’ स् स्थानियबासी द्धारिका प्रसाद रिजाल । हाल खैजडी भजनमा सालिकराम बाँस्कोटा,नानिबाबु बाँस्कोटा, सैलेन्द्र पाण्डे,चेत बहादुर पाण्डे,रबि पौडेल,सम्भु साप्कोटा,श्याम भारती,बाल्मीका रिजाल लगायत गाउँका थुप्रै युवा तथा वृद्धवृदाले निरन्तर साथ दिंदै आएका छन् । जे होस नेपाली मौलिक कला र संस्कृति जोगाउनमा छत्रेदेउरालीबासीहरु लागिपरेको पाउन सकिन्छ ।
२०७३ चैत १५ गते प्रकाशित