Fri. Jul 4th, 2025

पोखरा महानगरमा चुनावी माहोल, उम्मेदवार बन्नेको ताँती

pokhara-chunab

१८ चैत,  पोखरा  –

पृथ्वीको स्वर्गका रुपमा रहेको पोखरा आफैमा थुप्रै सम्भावना बोकेको सुन्दर सहर हो । संसारकै १४ वटा अग्ला हिमशिखरहरु रहेको नेपालको पोखराबाटै ८ वटा हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने कारणबाट मात्र होइन अनगिन्ती प्राकृतिक सम्पदाका कारणबाट पोखरा सधैँ सबैले स्मरण गरी रहने सहरको रुपमा रहेको छ ।

प्राकृतिक रुपले भरिपूर्ण भएको भएपनि महानगर बनाउने सन्दर्भमा थपिएका सामान्य पूर्वाधार पनि नभएका गाउँहरु थपिएका कारणले अब बन्ने महानगरका सामू थुप्रै चुनौतीहरु रहेका छन् । यिनै चुनौतीहरुका बीच आगामी चुनावी सरगर्मीमा पनि पोखराभित्र र बाहिरको माहौल तातेको छ ।

    काठमाडौँ पछि निकै चासोका रुपमा पोखरा महानगरलाई हेर्ने गरिएको परिप्रेक्ष्यमा पोखरा यस भन्दा अगाडि नेकपा एमालेले विजय प्राप्त गरेको उपमहानगर हो । साथै  पछि थपिएको लेखनाथ नगरपालिका पनि एमालेले विजय हासिल गरेको र दुवै नगर, उपमहानगर तथा वरपरका गाउँ विकास समितिहरु थपिएर महानगर बनिरहेको अवस्थामा पनि नेकपा एमाले नै पहिलो शक्तिका रुपमा आउन सक्ने पूर्वानुमान गर्न सकिन्छ । यसै कारणले पनि हुन सक्छ नेकपा एमालेबाट आसन्न निर्वाचनमा प्रत्यासीहरुको चर्चा पनि अलि बढी रहेको छ ।

एमालेबाट मेयरको प्रत्यासीहरुमा पूर्व मेयर कृष्ण थापा, मान बहादुर जि.सी., धनराज आचार्य, श्रीनाथ बराल, भरत पहारी र राजीव पहारीको बढी चर्चा छ भने नेपाली काँग्रेसका तर्फबाट सांसद् यज्ञ बहादुर थापा, व्यवसायी ऋषि सापकोटा, विन्दु कुमार थापा तथा एफएनसीसीआइका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट पूर्व सांसद् राजकाजी गुरुङ, विश्वप्रकाश लामिछाने र दिपक कोइरालाको नाम चर्चामा छ भने उपमेयरमा एमालेबाट मिना गुरुङ, मञ्जु गुरुङ, ट्रेड यूनियनकर्मी मिना गुरुङ र देवका पहारी, काँग्रेसबाट सुनयना पालिखे, सीता गुरुङ र लक्ष्मी पाण्डेको बढी चर्चा रहेको छ ।

 मेयरका लागि पुराना तथा झोला बोकिरहेकाहरुलाई दिनुपर्छ भन्ने मान्यता बिस्तारै पुरानो हुँदै गएको छ । महानगर जस्तो ठूलो जिम्मेवारीमा काम गर्न सक्ने योग्य र क्षमता भएका व्यक्तिहरु तथा जनसम्पर्क राम्रो भएको व्यक्ति छनौट गर्नुपर्छ भन्ने मान्यता राख्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । एमालेका पूर्व मेयर थापा कार्यकर्ताहरु बीच त्यति लोकप्रिय छैनन् भने जिसी र बरालबाट कुनै नयाँ र सृजनात्मक काम हुन नसक्ने अधिकांशको धारणा छ । योग्यता, क्षमता र योजनावद्ध काम गर्न सक्ने मास लिडर आचार्य र इन्जिनियर पहारीलाई अगाडि बढाउँदा समयानुकुल हुने एकथरि स्वतन्त्र विश्लेषकहरुको भनाई छ भने यूवा संघ नेता राजीव पहारी आफ्नै अपारदर्शी कार्यशैली र अनुचित लेनदेनमा लाग्ने गरेका कारण जिम्मेवारी पाउन नसक्ने धेरैको भनाई छ ।

त्यस्तै काँग्रेसका केन्द्रीय नेताको ठाडो निर्देशनमा खर्च गरेरै भएपनि टिकट ल्याउने हल्ला गर्ने गरेका उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष थापा र मुल्मीभन्दा काँग्रेसप्रति निष्ठाको राजनिति गरिरहेका सांसद थापा वा सापकोटालाई अगाडि बढाउनुपर्ने स्वयं काँग्रेसहरुकै माग देखिन्छ । माओवादी केन्द्रभित्र भने चुनावको दौडमा तेश्रो भएकोले को हुने भन्नेमा खासै विवाद देखिँदैन तथापि विश्वप्रकाश लामिछाने अलि अगाडि देखिन्छन् भने उपमेयरमा पहारी, गुरुङ र पालिखेमा सम्भावना बढी देखिन्छ ।

२०७३ चैत १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: