
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन जेठ २० गतेबाट काठमाडौँमा हुने भएको छ ।
महासंघको शनिवार र आइतवार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । विश्व प्रेस स्वतन्त्रता दिवशको सन्दर्भमा बैसाख २० गते हुने अधिवेशन एक महिना पछि जेठ २० गते हुन लागेको हो ।
२०७४ बैशाख ३१ गते मुलुकमा १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुने घोषणा भइसकेका कारण उत्पन्न विशेष परिस्थिति र त्यस्तो संवेदनशील समयमा पत्रकारहरूले स्थलगत रिपोर्टिङ र समाचारकक्षमा निर्वाह गर्नुपर्ने विशेष दायित्वलाई समेत मध्यनजर गर्र्दै बैठकले नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारा सहित आगामी जुन ३ अर्थात २०७४ जेठ २० गते शनिबारका दिन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरी स्थानीय तहको निर्वाचन नभएसम्म अन्य सबै खाले निर्वाचनमा रोक लगाएपछि महासंघको निर्वाचन एक महिना रहेको हो ।
निर्वाचन आयोगले महासंघको जिल्ला शाखाको निर्वाचन प्रक्रियामासमेत रोक लगाएको छ । तर, रोकिएका जिल्ला तथा प्रतिष्ठान गरी ४० शाखाको भने बैसाख ७ गते भित्रमा गरिसक्नु पर्ने महासंघको बैठकले निर्णय गरेको छ । शाखाको निर्वाचनमा समस्या आए क्षेत्रीय संयोगक र सहसंयोगकसँग समन्वय गर्नुपर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए ।
नेपाल पत्रकार महासंघको विगतदेखिको परम्परा अनुसार प्रत्येक तेस्रो वर्षको मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आफ्नो महाधिवेशन आयोजना गर्ने गरेको र यो वर्ष पनि सोही मितिमा महाधिवेशन गर्ने तयारी गरिरहेको अवस्थामा मुलुकको विद्यमान विशेष परिस्थितिमा परिवर्तन भई मे ३ कै दिन महाधिवेशन गर्न संभव हुने अवस्था बनेमा सचिवालयले मिति तय गर्नसक्ने गरी वैठकले अधिकार प्रत्यायोजन समेत गरेको छ ।
२०७३ चैत २१ गते प्रकाशित