
फाईल फोटो
८ बैशाख, धादिङ –
जुसमा औषधी मिसाएर यात्रुसँग धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ ।
काँकडभित्ताबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ८४५१ नम्बरको रात्रीबसमा यात्रुलाई साथी बनाएर लुट्ने भारत विहारका रञ्जित कुवर गिरी र रवि कनल पृथ्वी राजमार्ग अन्तर्गत नौविसेबाट पक्राउ परेको हो । लुटेराहरुले मोरङ उर्लाबारी कमल श्रेष्ठ र झापा गणेश आचार्यलाई साथी बनाएर बसभित्रै लुटेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले बताए ।
भारतीय दुई लुटेराले बसको छुट्टाछुट्टै सिटमा बसेका श्रेष्ठ र आचार्यलाई विसालु पदार्थ मिसाएको जुस् खान दिई बेहोस बनाएर औठी, सिक्रि र नगद पैसा लुटेको प्रहरीको बयानमा खुलेको छ । प्रहरीका अनुसार भारतीय कम्पनीले उत्पादन गरेको ‘मज्जा फ्रुट’ नामको जुसमा ‘लडपोज’ नामको विषाक्त औषधी मिसाएर खुवाइएको हो ।
लुटेराले गणेश श्रेष्ठको औठी, सिक्रि र ४ हजार नगद, अमर आचार्यको २० हजार नगद लुटेका थिए । होसमा आएपछि गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक जिवन निरौलाले बताए । विलको आधारमा लुटिएको औठी र सिक्रि गणेशको नै भएको पुष्टि भएपछि फिर्ता गराइएको उनले जानकारी दिए ।
श्रेष्ठ र आचार्यलाई बेहोस बनाएर लुटेको आशंकामा बसका अन्य यात्रुले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । लुटिसकेपछि नौविसेमा बसबाट ओर्लिए हुलिया परिवर्तन गर्नका लागि दारी कपाल काट्दै गरेको बेला लुटेरा पक्रिएको प्रहरी निरिक्षक निरौलाले बताए । पक्राउ परेका भारतीय लुटेरा रन्जित कुवर गिरी र रबी कुनल माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बसमा यसरी लुटे भारतीय लुटेराले
मोरङ उर्लाबारी कमल श्रेष्ठ र झापा गणेश आचार्य आफैमा अपरिचित हुन् । काँकडभित्ताबाट काठमाण्डौ आउन लाग्दा संयोगले एउटै बसमा परे । श्रेष्ठ र आचार्यको सिट छुट्टा छुट्टै प¥यो । भारतीय दुई लुटेराले त्यहि मौका छोपे । र एक जनाले श्रेष्ठसंगैको सिट र अर्काेले आचार्य संगैको सिटको टिक काटे ।
यात्रामा भारतीय लुटेरा रन्जित कुवर गिरी र रबी कुनल सिट साटी साटी पालैपालो श्रेष्ठ र आचार्यसंग बसे । रात्री यात्राको साथी बनाए । जुस आँदा शरीर फुर्तिलो हुन् भन्दै यात्राको क्रममा पालैपालो जुस खुहाए । सुरु सुरुमा जुस मात्रै खुहाए । नारायणगढ आसपास आएपछि ‘मज्जा फ्रुट’ नामको जुसमा ‘लडपोज’ नामको विषाक्त औषधी मिसाएर खुहाएपछि श्रेष्ठ र आचार्य निदाए । मुग्लिन कटेपछि लुटेराहरुले श्रेष्ठले लगाएको सिक्रि, औठी र उनीसंग भएको ४ हजार नगद निकाले । आचार्यको फाँदमा भएको २० हजार पनि लुटे ।
लुटेरा दुबै जनाले काठमाण्डौसम्मको बस टिकट लिएका थिए । लुटिसकेपछि नौबिसेमा ओर्लिए । ओर्लिने बेला श्रेष्ठ र आचार्य निदाइरहेको र दुईजना भारतीय मात्रै ओर्लिएपछि बसका यात्रुले प्रहरीलाई खबर गरे । दारी कपाल काटेर आफ्नो हुलिया परिवर्तन गर्न लाग्दै गर्दा प्रहरीले पक्राउ ग¥यो ।
प्रहरीसंगको कुराकानीमा आधारित
तस्विर सौजन्य : पत्रकार राजाराम डंगोल
२०७४ बैशाख ८ गते प्रकाशित