Sat. Jul 27th, 2024

जापानमा नागढुंगाको चर्चा, बुद्ध जन्मेको देश नेपाललाई सहयोग बढाउने

phoo

काठमाडौ

जापान भ्रमणमा रहनुभएका अर्थमन्त्री डा रामशरण महत र लिबरल डेमोक्रेटिक पार्टीको राष्ट्रिय परिषदका अध्यक्ष तथा पूर्वमन्त्री तोसिहिरो निकाइबीच शुक्रबार भेटघाट तथा छलफल भयो ।

सो अवसरमा अर्थमन्त्री डा महतले नेपालमा संबिधान निर्माणका लागि भैरहेको प्रयासको बारेमा जानकारी गराउनुभयो । नेपालमा कार्यान्वयन हुन सक्ने लोकतान्त्रिक संबिधान निर्माणका लागि दलहरु जुटिरहेको उल्लेख गर्दै उहाँले चाँडै नै दलहरुबीच न्युनतम सहमति कायम हुने र संबिधान जारी हुने बताउनुभयो । अर्थमन्त्री डा महतको भनाई थियो, जापानले नेपाललाई आर्थिक सहयोग मात्र गरेको छैन, नेपालको लोकतान्त्रिक प्रक्रिया र प्रणालीको सुदृढीकरणको लागि पनि ठूलो सहयोग गरेको छ । यसको हामी सँधै सराहना गर्दछौं ।

उहाँले जापानमा नेपालीलाई शरणार्थी मान्यता दिन नपर्ने उल्लेख गर्दै भन्नुभयो, नेपालमा कानूनको शासन छ । लोकतान्त्रिक विधि र प्रक्रियाबाट काम हुन्छ । धेरै मानव अधिकारबादी संघ संस्थाहरु कार्यरत रहेका छन । त्यसैले कसैलाई जापानमा मात्र होइन अन्यत्र पनि शरणार्थी भएर बस्नु र त्यस्तो मान्यता खोज्नु आवश्यक छैन । आईएसआईले दुई जापानी नागरिकको हत्या गरेकोमा निन्दा गर्दै उहाँले आतंककारीहरु विरुद्धको विश्वको अभियानमा नेपालको ऐक्यवद्धता रहेको स्पष्ट पार्नुभयो । सो अवसरमा अध्यक्ष निकाई तथा सांसदहरुको टोलीले नेपालमा संबिधान निर्माण प्रक्रिया र विकास निर्माणको स्थितिका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष निकाईले भन्नुभयो, बुद्ध जन्मेको देश नेपाललाई सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ । उहाँले नेपाललाई आगामी दिनमा थप सहयोग गर्न जापान तत्पर रहेको आश्वासन दिनुभयो ।

यसैगरी अर्थमन्त्री डा महत र जापानका विदेश राज्यमन्त्री मिनोरु किउचीबीच शुक्रबारै भेटघाट तथा छलफल भयो । सो अवसरमा अर्थमन्त्री डा महतले जापानले जलविद्युत, कृषि, सडक, स्वास्थ्य जस्ता नेपालको प्राथमिकताका क्षेत्रहरुमा सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । नेपालले आगामी सन २०२२ सम्ममा कम विकसितबाट विकसित मुलुकको स्तरमा पुग्ने लक्ष्य राखेको उल्लेख गर्दै भन्नुभयो, यसका लागि नेपालले ठूलो परिमाणमा लगानी गर्नुपर्ने हुन्छ । पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ जसले गर्दा निजी क्षेत्रको लगानी आकर्षित हुन्छ र आर्थिक गतिविधिहरुको बिस्तार तीब्र गतिमा हुन्छ । सो अवसरमा विदेश राज्यमन्त्री किउचीले हालै सार्क मुलुकहरुबीच सम्पन्न विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणका लागि भएको सम्झौताको प्रशंसा गर्नुभयो । उहाँले नागढुंगाको सडक सुरुङ निर्माणले यातायात सेवालाई सहज र कम खर्चिलो बनाउने आशा व्यक्त गर्नुभयो । विदेश राज्यमन्त्री किउचीले नेपाली जनताले चाँडै नै संबिधान पाउने आशा व्यक्त गर्नुभयो ।

यसैगरी अर्थमन्त्री डा महत र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका वरिष्ठ उपाध्यक्ष हिडियाकी डोमिचीबीच नेपालमा जाइकाको सहयोगबारे छलफल भयो । भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले जापानको सहयोगमा निर्मित बनेपा बर्दिबास सडक सञ्चालनमा आएको र यो सडक गुणस्तरीय भएकोमा खुसी व्यक्त गर्नुभयो । भारतसँग भएको विद्युत व्यापार सम्झौताले नेपालमा विशेषगरी जलविद्युतका क्षेत्रमा लगानीको ढोका खोलेको उल्लेख गर्दै उहाँले भन्नुभयो, हालै सार्क मुलुकहरुबीच प्रसारण लाइन सम्झौता पनि सम्पन्न भएको छ र यसले सार्क मुलुकभर विद्युतको साझा बजार प्राप्त भएको छ । यसले नेपालको उर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित हुने वातावरण बनेको छ । अव नेपालको विद्युतका क्षेत्रमा लगानी गर्दा बजार छैन भन्ने गुनासो गर्ने ठाउँ छैन । उहाँले नागढंगाको सुरुङ निर्माणको कार्य छिटै हुने र यो परियोजना नेपालका लागि कोशेढंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा महतले तनहुँ जलविद्युतको कामलाई पनि उर्जा मन्त्रालयले चाँडै नै अगाडि बढाउने जानकारी दिनुभयो ।

सो अवसरमा जाइकाका वरिष्ठ उपाध्यक्ष डोमिचीले समयमै संबिधान निर्माण भै विकास निर्माणमा केन्द्रित हुने सकेमा नेपाललाई जापानको थप सहयोग आउने संभावनाबारे चर्चा गर्नुभयो । तनहुँ जलविद्युत आयोजना नेपालमा जापानी सहयोगको एउटा सांकेतिक परियोजना भएको चर्चा गर्दै उहाँले यसको निर्माण कार्य छिटो थाल्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष डोमिचीले हालै नेपालले भारतसँग गरेको विद्युत व्यापार सम्झौता र सार्क बैठकका अवसरमा सम्पन्न सार्क मुलुकहरुबीचको प्रसारण लाइन सम्झौताका कारण नेपालको समग्र उर्जा क्षेत्रको विकासका लागि ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसका लागि उहाँले नेपाल सरकारलाई बधाई पनि दिनुभयो । उहाँले नेपाललाई जापानको सहयोग अझ विस्तार गर्न चाहेको जानकारी पनि दिनुभयो । भेटघाटका अवसरमा सडक विभागका महानिर्देशक माधव कार्की तथा विभागका इन्जिनियरहरुको उपस्थिति रहेको थियो । यसअघि अर्थमन्त्री डा महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक र यसमा प्रयोग भएको प्रविधिको अवलोकन गर्नुभएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: