शंकर श्रेष्ठ / २४ बैशाख, धादिङ –
स्थानीय तहको निर्वाचन आउन अब एक साता मात्रै बाँकी छ । गाउँ सहर चुनावी रौनकले ढपक्कै ढाकिएको छ । उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा भोट हाल्न सिकाउँदै घरघर चहार्न थालेका छन् ।
यसरी मतदाताको दैलोमा पुगेर ‘एक भोट मलाई है’ भन्दै भोट माग्ने अघिल्लो निर्वाचनमा जस्तो नौलो कोही छैनन् । गाउँकै दाजुभाई दिदीबहिनी नै छन् । सधैजसो देखिएका अनुहार नै धेरै छन् ।
निलकण्ठ नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट अध्यक्षका उम्मेदवार गुणबहादुर थपलिया हाँसो गर्दै भन्छन् ‘गाउँमा मलाई नचिन्ने को छ र भोट हाल भन्नुप¥यो ।’ अघिल्लो संविधानसभाको चुनावमा दलबलसहित आफ्नो उम्मेदवार लिएर गाउँडुलेका थपलिया यस पटक आफ्नो गाउँमा आफै उम्मेदवार बनेर एक्लै गाउँ डुलिरहेका छन् ।
निलकण्ड ८ कै फुलमायाँ विक जिवनमै पहिलो पटक चुनावको उम्मेदवार छन् । उनी एमालेबाट महिला सदस्यका उम्मेदवार हुन् । चुनावपछि संविधान कार्यान्वयन हुने र संविधानले दिएको अधिकार जनताको घरदैलोमा आइपुग्ने आशामा वर्षभरी खाने खेतीको प्रवाह नराखी आफै उम्मेदवार बनेर मतदाताको घर घर पुग्दैछिन् फुलमायाँ वि.क. । उनी भन्छिन् ‘भुकम्पले भत्किएको घर बनाउन नसकेर अहिलेसम्म टहरामै छु, चुनावपछि पक्कै संविधान कार्यान्वयन हुनेछ र हामीले सुखको सास फेर्न पाउँछौ भन्ने ठूलो सपना लिएर चुनावमा लागेको छु ।’
एक हातमा पार्टीको झण्डा अर्काे हातमा नमूना मतपत्र बोकेर घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरु देखाउँदै निलकण्ठ नगरपालिका ८ की मान कुमारी श्रेष्ठले भनिन् ‘यसपालिको चुनावमा पल्लोघरको कान्छी पनि उठेको रैछ ।’ नेकपा एमालेबाट निलकण्ठ ८ को दलित महिला सदस्यका उम्मेदवार फुलमायाँ विक सहित उम्मेदवारहरु घरदैलो अभियान लिएर शनिबार विहान मानकुमारीको घरमा पुगेका थिए ।
आफ्नै गाउँको २ जनाले वडा सदस्यले उम्मेदवारी दिएको थाहा पाएपछि उनले छुट्टै खुसी व्यक्त गरिन् । मानकुमारीले भनिन् ‘पहिला पहिलो नाम सुनेको भरमा भोट हालियो, यसपालि आफ्नै गाउँको भाईबैनीलाई भोट हाल्न पाइने भयो, अब चाही हाम्रो समस्या समाधान हुन्छ की ?’
जनप्रतिनिधि नहुँदा केन्द्रको नीति नियम गाउँ तहसम्म आइपुग्न ढिला हुने भएका कारण पनि सास्ती बेहोर्नु परेको र अव स्थानीय सरकार आउने भएपछि नागरिकमा यो चुनावले उत्साह र नयाँ आशा ल्याएउको छ । भुकम्पपछिको अव्यवस्थित बसोबास र खेतबारीको मकै गोड्ने चटारो छोडेरै भएपनि आफ्ना उम्मेदवारलाई जिताउन भुकम्प प्रभावितहरु चुनावी गतिविधिमा लागेका छन् । जुनकुनै दलमा आस्ता राख्ने मतदाता होस् या कार्यकर्ताहरु भन्छन् ‘बल्ल बल्ल हुन लागेको चुनावमा भोट त हाल्नै पर्छ ।’
ससाह ज्यामिरेका राजु श्रेष्ठ पनि स्थानीय तहको चुनावले उत्साहीत छन् । चुनावी अभियान लिएर गाउँ पुगेका उम्मेदवारहरुलाई भन्दै थिए ‘हाम्रो पीडा बुझ्नु भएकै छ, जसरी हो समाधान गराइदिनुस् ।’ गाउँकै दाजुभाई दिदीबहिनीले जितेर आउँदा आफ्नो गाउँको समस्या समाधान हुनेमा उनी मख्ख छन् ।
उम्मेदवार र कार्यकर्ता आ–आफ्नो अजेण्डा लिएर गाउँ पस्दै गर्दा यो दल र त्यो दल भनेर चुनावी प्रचार निकै भएका छन् । चुनावपछि भुकम्पले भत्किएको गाउँ नमूना बन्नेमा अधिकांश मतदाता आशाबादी छन् । निलकण्ठ ८ का सीताराम श्रेष्ठ भन्छन् ‘चुनावबाट जितेर आउने प्रतिनिधिले भुकम्पले ध्वस्त बनेको गाउँ अब उर्जाशिल बनाउनुपर्छ ।’
स्थानीय तहको चुनावपछि गाउँघरमै सरकारको उपस्थिति रहने भएकोले पनि संविधानसभाको भन्दा यो चुनावमा स्थानीयको चासो बढि देखिएको छ । धादिङमा विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार र कार्यकर्ता सक्रिय भएर चुनावी प्रचारमा लागेका छन् ।
२०७४ बैशाख २४ गते प्रकाशित