२७ बैशाख, धादिङ –
धादिङका १४ जना चेपाङ बैशाख ३१ गते हुने स्थानीय तहको चुनावी मैदानमा उत्रिएका छन् ।
सिमान्तकृत चेपाङ समुदायबाट यत्तिधेरै व्यक्तिहरुले उम्मेदवार बन्ने अवसर पाएको यो पहिलो पटक हो । यस अघि भएको संविधान सभाको निर्वाचनमा २ जना समानुपातिक उम्मेदवार थिए ।
स्थानीय तहको निर्वाचनले चेपाङ समुदायमा राजनीतिक चेतना बृद्धि गराएको छ । गजुरी गाउँपालिकामा ३ जना वडाअध्यक्ष सहित ४ जना र बेनिघाट रोराङ गाउँपालिकामा १० जना वडा सदस्यका उम्मेदवार छन् । चेपाङ समुदायका व्यक्तिहरु छुट्टाछुट्टै पार्टीबाट उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट ७, नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसको तर्फबाट ३ जना उम्मेदवार छन् ।
गजुरी गाउँपालिकाको वडा नम्बर ४ मा चेपाङ समुदायकै २ जना वडा अध्यक्षमा भिड्दै छन् । नेकपा माओवादी केन्द्रबाट सनकबहादुर चेपाङ र नेपाली कांग्रेसको तर्फबाट सुरेन्द्र चेपाङ मैदानमा उत्रिएका छन् । गजुरी गाउँपालिकाकै वडा नम्बर ३ मा नेकपा एमालेबाट उम्मेदवार शोभा चेपाङ (रञ्जु) अन्य जातीका उम्मेदवारसंग वडा अध्यक्षमा भिड्दै छिन् ।
सबै उम्मेदवारहरुले आ–आफ्नो गाउँटोलमा चुनावी घरदैलो कार्यक्रम गरिरहेका छन् । जुन पार्टीबाट उठेनी जस्ले जितेपनि हाम्रै गाउँकै विकास हुने हो । चेपाङ उम्मेदवारहरु भन्छन् ‘अवसर पाउनु नै हामीलाई ठूलो कुरा हो ।’
चेपाङ उम्मेदवार सबैको अजेण्डा पनि उस्तै खालका छन् । सबैले स्वास्थ्य, शिक्षा र विकास निर्माणलाई जोड दिएका छन् । गजुरी गाउँपालिका वडा नम्बर ३ मा एमालेबाट अध्यक्षकी प्रत्यासी शोभा चेपाङ भन्छिन् ‘गाउँमा अहिलेसम्म बाटो पुगेको छैन, विजुली बलेको छैन । भौतिक पूर्वाधार निर्माण र स्वास्थ्य शिक्षामा चेतना अभिवृद्धि गराउने मुख्य विषय हो ।’ जुन पार्टीको उम्मेदवार प्रतिनिधि बनेर आएपनि जातित्वको हिसावले पनि चेपाङ समुदायको संरक्षण हुने उनले बताइन् ।
‘पहिला चेपाङले अवसर नै पाएन, अहिले बल्ल अवसर आएको छ, सबैको सहयोग पनि पाएका छौं, प्रतिनिधि बनेर जो आएपनि चेपाङ समुदायकै विकास हुने हो’ गजुरी गाउँपालिका वडा नं. ४ मा काँग्रेसको तर्फबाट अध्यक्षका प्रत्यासी सुरेन्द्र चेपाङले भने । चेपाङ बसोबास रहेको क्षेत्रलाई पर्यटकीय बनाउने योजना अघि बढाएका छन् ।
अधिकांश चेपाङ समुदायको बसोबास महाभारत क्षेत्रको २५ सयदेखि २८ सय मिटर उचाईमा छ । त्यस क्षेत्रमा होमस्टेको विकास गर्ने, पर्यटकीय क्षेत्र बनाउने योजनाहरु चेपाङ उम्मेदवारले अघि सारेको नेपाल चेपाङ संघका शिक्षा विभाग प्रमुख तिलक चेपाङले बताए ।
आफ्नै समुदायको व्यक्ति उम्मेदवार बनेर भोट माग्न घर घर पुग्दा जुनै पार्टीबाट पुगेपनि चेपाङ मतदातामा खुसीको रौनक देखिन्छ । जुन पार्टीबाट जितेर प्रतिनिधि आएनी चेपाङ समुदायको समस्या समाधान हुनेमा मतदाताहरु मख्ख परेका छन् ।
धादिङको गजुरी, बेनिघाट रोराङ, थाँक्रे, सिद्धलेक गाउँपालिका र धुनीबेसी नगरपालिकामा चेपाङ समुदायको बसोबास छ । जिल्लाभर १८ हजार २ सय ५० चेपाङ छन् । त्यसमध्य १० हजार ५ सय मतदाता छन् ।
२०७४ बैशाख २७ गते प्रकाशित