Sat. Jul 27th, 2024

चेपाङ गाउँमा अनिकाल

चितवन – यहाँको लोथर ९ स्थित सुसानोकी २६ वर्षीया फूलमाया चेपाङको मुहारमा चमक छैन। कलेटी परेका ओठ छन्। पेट सधैं खाली हुन्छ। अन्न नपरेको महिनौं भयो। डेढ वर्षका जुम्ल्याहा छोरा राम र लक्ष्मण दूध चुस्न लुछाचुँडी गर्छन्। दूध नआउँदा रोएर रात कटाउँछन्। मंसिरदेखि उनले पूरा पेट खान पाएकी छैनन्। अन्न फल्ने बारी छैन। अलिकति पाखो बारीको मकै र कोदोले महिना दिन धान्दैन। डाँडामा घर छ।

ओड्ने ओछ्याउने लुगा नहुँदा पराल ओछ्याएर सुत्नुपर्ने बाध्यता छ। राम्रोसँग खान नपाउँदा दुवै जुम्ल्याहा छोरा कुपोषित भए। केही समयअघि दाताका भरमा काठमाडौंमा लगेर उपचार गरे पनि अहिले छोराहरूको अवस्था उस्तै छ। ५ जनाको परिवार छ। लुगा नहुँदा बरु पीडा सहन सकिन्छ, उनले भनिन्, अन्न नहुँदा छोराहरूको सास धान्न समस्या पर्‍यो। ऋण कसैले पत्याउँदैन। पत्याए पनि तिर्न सक्ने क्षमता छैन। आम्दानीको स्रोत केही छैन। खर्च अभावमा जेठो छोरालाई पढाउन सकेकी छैनन्।

श्रीमान् गंगालाल अरूको मेलापातमा गएर कोदो, मकै ल्याए मात्र खान पाउँछन्। छोराको हेरालु बस्नुपर्ने भएकाले उनी मेलापातमा जान पाउँदिनन्। नजिकमा मेलापात जाने ठाउँ छैन। त्यसका लागि कोसौं जानुपर्छ। त्यो पनि भनेको बेला हुँदैन। पोहोर पनि यसरी अनिकालले सतायो, उनी भन्छिन्, पोहोर ज्यान बचे पनि अहिले बचाउन मुस्किल पर्ला जस्तो छ। गिट्ठा भ्याकुर खाने बेला भएको छैन। सिस्नु पाउनसमेत मुस्किल छ। हामी बुढाबुढी त भोक सहने बानी परिसक्यौं, उनी भन्छिन्, तर छोराहरू सहन सक्दैनन्, रातभरि रोएर सुत्न दिँदैनन्। उनले अहिलेसम्म गाउँमा आएर कसैले पनि राहत सहयोग नगरेको दुःखेसो पोखिन्। आफैं गरेर खान खेतबारी नहुँदा सधैं अनिकाल खेप्नुपरेको बताइन्।

उनी मात्र होइन, लोथर ४ स्थित र्‍यानडुङका २ वृद्धवृद्धाको हालत उनको जस्तै छ। ७० वर्षीय कृष्णबहादुर र ८० वर्षीय उनकी श्रीमती गाजलीमाया चेपाङ भोको पेट हातपाखुरा खियाउन बाध्य छन्। २ छोरा र २ छोरी लाखापाखा लागिसके। बुढाबुढी पाखो बारीमा सानो झुप्रो बनाएर बसेका छन्। घर चुहिन्छ। रातभरि दम्पती जागै बस्छन्। अहिले अनिकाल छ। लगाउने र ओड्ने लुगा नहुँदा आगोको तापमा रात गुजार्नुपर्ने बाध्यता छ। छोराछोरीले आफ्नो गरेर खाएका छन्, कृष्णबहादुर भन्छन्, हामी बुढाबुढीको पनि जेनतेन सास अल्भिmएको छ। कहिलेकाहीं छोराहरू आउँछन्। केही अन्न सहयोग गरे पनि उनीहरूको अवस्था उस्तै छ।

पाखो बारीमा के फल्छ ररु, गाजलीमायाले भनिन्, अहिलेसम्म बुढाबुढी भोको पेट दिन कटाइरहेका छौं। उनले वृद्धभत्ताको रकम जम्मा गरेर चाडबाडमा मासु र चामलको भात खाने गरेको बताइन्। यो परिवारजस्तै लोथर ४ का सन्तकुमार र उनकी श्रीमती रतिमायालाई अनिकालबाट डेढ वर्षका छोरा र ४ वर्षकी छोरी जोगाउन मुस्किल परेको छ। अन्नको नामनिसाना छैन। दिनहुँ कहाँ र कसकामा गएर काम गरेर कोदो र मकैको पिठो ल्याउने भन्ने पिर मात्र हुन्छ। यसपटक चाँडै अनिकाल लाग्यो, सन्तकुमार भन्छन्, अझै ठूलै अनिकालले सताउने दिन आउनै बाँकी छ।

पहिला चैत महिनाबाट अनिकालले सताउँथ्यो। यसपटक मंसिरबाट लाग्यो। नजिकैको उनबहादुर चेपाङको घरमा पनि अनिकालले गर्दा चुलोमा आगो राम्रोसँग नबलेको महिनौं भइ सक्यो। भण्डारा-मलेखु सडक खन्ने क्रममा उनको अलिअलि उब्जाउ हुने पाखो बारी र खेत पुरियो। यसले गर्दा अनिकालले चाँडै सातायो। अहिले ६ जनाको परिवार एक छाक खाएर जीवनयापन गरिरहेको छ। एउटी छोरी भोको पेट ३ घण्टा पैदल हिंडेर यहुरालीटार पुग्छिन्। परिवारका सदस्य एक छाक पनि नजुट्दा भोकै सुत्नुको विकल्प हुँदैन।

सरकारले बस्न घर बनाइदिन्छ, तर पेट भर्ने अन्न र आङ ढाक्ने लुगा कहिल्यै दिंदैन, उनबहादुर भन्छन्, घर हेरेर पेट भरिँदैन रैछ, हामी गरिबको जुनी यस्तै रैछ।ु उनले आम्दानी हुने कुरा सहयोग गरे पनि गरेर खान तयार रहेको बताए। चेपाङ समुदायमा प्रायः ६ महिनासम्म अनिकालले सताउने गर्छ। तर अधिकांशले पाखोबारीमा उब्जाउ नहुँदा ९ महिनासम्म अनिकालको सामना गर्नुपर्ने बाध्यता छ।

चेपाङ गाउँमा भोकमरी सुरु भइसकेको छ, चेपाङका क्षेत्रमा काम गर्दै आएका समाजसेवी केपीकिरण शर्माले भने, यो बर्सेनि देखा पर्ने समस्या हो, त्यसैले सरकारले दिगो रूपमा उनीहरूको आयस्तर वृद्धि गर्ने गरी आयआर्जनमा सक्रिय बनाउनसके यो समस्या बिस्तारै हटेर जाने थियो। ०६८ सालको जनगणनाअनुसार चितवनमा सबैभन्दा धेरै २८ हजार चेपाङको बसोबास रहेको पाइएको थियो। अहिले त्यो संख्या बढेर ३२ हजार हाराहारीमा पुगेको शर्मा बताउँछन्। ९ वटा पहाडी गाविसमा चेपाङको बाक्लो बसोबास छ। विभिन्न संघसंस्थाले प्रतिस्पर्धा गर्दै सुगम ठाउँमा बेलाबेलामा खाद्यान्न र लत्ताकपडा सहयोग गर्ने गरेका भए पनि पैदल दूरीमा पुगिने गाउँमा कमै सहयोग पुग्ने गरेको छ।
इकान्तिपुर अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: