

सरिता श्रेष्ठ / २ जेठ, धादिङ –
धादिङको थाक्रे गाउँपालिकाकी ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा वडा नं ५ को वडा सदस्यमा निर्वाचित भएकी छन् । उनी एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्य पदमा ४ सय ९५ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (माआवादी केन्द्र) की सविना विकले ४ सय ७३ मत ल्याईन् ।
थाक्रे गाउँपालिकामा वडा नं ५ को वडा अध्यक्षमा माओवादी केन्द्रका भूमिबहादुर तामाङ विजयी भएका छन् भने अन्य ४ वटा सदस्य पदहरुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
उनको बूढेसकालमा निर्वाचन जितेर जनप्रतिनिधि हुने रहर पूरा भएको छ । ८६ वर्षको उमेरमा समेत जनप्रतिनिधि भएर जनताको सेवा गर्ने भावनावाट प्रेरित भएर उम्मेदवारी दिएपछि चन्द्रमाया जिल्लामै चर्चाको पात्र बनेकी थिइन् । उनको प्रतिस्पर्धा अहिलेका युवापुस्ता, भर्खरका जोसीला अनुहारसँग थियो । “अहिलेका युवापुस्ताले आफूलाई नरोज्ने हो कि भन्ने उनलाई चिन्ता थियो तर थाक्रेबासीको मन जित्न सफल भए, मैदानमा उत्रिए र जिते पनि अब म जस्ता वृद्धवृद्धाहरुलाई पनि यो हौसलाको पाटो भएको छ” – उनी भन्छिन् ।
उनले १२ वर्षयता सामाजिक सुरक्षा (वृद्ध) भत्ता लिदै आएकी छन् । वडा सदस्यमा अनिवार्य रुपमा दुई जना महिला र दलितको कोटा छुट्याएकोमा खुसी हुँदै उनले बूढेसकालमा समेत सक्रिय भएको भन्दै सबैले भोट दिएर जिताएकोमा उत्साहित हुँदै पार्टीलाई धन्यावाद दिएकी छन् ।
उनले सबैको विश्वास जितेकी छन् । “नेकपा (एमाले) नेतृत्वको सरकारले वृद्धवृद्धा, दलित र विधवालाई भत्ता दिने कामको सुरुवात गरेको थियो । मैले पनि वृद्धभत्ता पाउँदै आएको छु”, अब नपाएका दिदी बहिनीहरुलाई पनि लिनका लागि प्रेरित गर्नेछु । उनी सुनाउँछिन् ।
आफ्नो पार्टीले वृद्धवृद्धा, महिला, जातजातिलाई समान अवसर प्रदान गरी सम्मान गर्ने भएकाले चन्द्रमाया वृद्धावस्थामा पनि चुनावी मैदानमा आएकी हुन् । थाक्रेका निर्वाचन अधिकृत महेन्द्र काफ्लेले चन्द्रमाया गाउँपालिकाकै ज्येष्ठ उम्मेदवार भएको जानकारी गराए ।
साविकको केवलपुर, थांक्रे, तसर्पु र भुमेस्थान गाविसको सबै भाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ नम्बर वडा मिलाएर वनाइएको थांक्रे गाउँपालिका जिल्लाकै ठुलो गाउँपालिकामा पर्दछ । चन्द्रमाया साविकको तसर्पु गाविस वडा नम्बर ९ दामेचौर की वासिन्दा हुन् ।
श्रीमती उम्मेदवार बनेपछि खुसी भएका उनका श्रीमान वडा सदस्यमा जीत हाँसिल गरेपछि खुसीको सीमा नरहेको बताउँछन् ।
२०७४ जेठ २ गते प्रकाशित