
२ जेठ, धादिङ –
स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले अग्रता हाँसिल गरेको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका भीम ढुङगाना अग्रता हाँसिल गरेका छन् भने धुनीबेसी नगरपालिकामा एमालेका बालकृष्ण आचार्यले अग्रता हाँसिल गरेका छन् । नीलकण्ठमा नगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर दिएर संयुक्त चुनाव लडेका हुन् भने धुनीबेसीमा तीनै दलले अलग अलग चुनाव लडेका छन् ।
मंगलबार साँझसम्म धादिङको १ सय ४ वडा मध्ये ४१ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये नेकपा एमालेका उम्मेदवार २३ वडामा विजयी भएका छन् । नेकपा माओवादीका उम्मेदवार ९ वटा वडामा, नेपाली कांग्रेसका उम्मेदवार ८ वटा वडा र राप्रपा १ वडामा विजयी भएका छन् । जिल्लाभरका नगरपालिका र गाउँपालिकाको मत परिणाम अनुसार मंगलार साँझसम्म एमाले अगाडि देखिएको छ भने दोश्रोमा माओवादी केन्द्र र तेश्रोमा नेपाली कांग्रेस रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राप्रपाले रुवीभ्याली ३ बाट पहिलो पटक खाता खोलेको छ । रुवीभ्याली ३ का कामीलाल तामाङले १ सय ९५ मत ल्याई माओवादी केन्द्रका चेलामा तामाङलाई पराजित गरेका हुन् ।
२ नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लाको सबै पालिकाहरुमा मतगणना भइरहेको छ ।
२०७४ जेठ २ गते प्रकाशित