
शंकर श्रेष्ठ / ५ जेठ, धादिङ –
स्थानीय तहमा निर्वाचितको थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित एघारै वडाका पदाधिकारीहरुले शुक्रबार पदरभार ग्रहण गरेका छन् ।
दुई दशकपछि भएको स्थानीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएसंगै पदभार ग्रहण गरेका छन् । थाक्रे गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले निर्वाचन आयोगले तयार गरेको कानूनी व्यवस्था अनुसार सपथ लिएका हुन् ।
प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज काफलेले शुक्रबार अध्यक्षमा निर्वाचित नेकपा एमालेका रामकुमार आचार्य र एमालेकै अम्विका रुपाखेती लगायत ११वटै वडाका निर्वाचित प्रतिनिधीहरुलाई सपथ ग्रहण गराएका थिए । सपथ लिएसंगै निर्वाचित सबै जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गरे लगत्तै गाउ“पालिका प्रमुख रामकुमार आचार्यले सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ताको काम व्यवस्थित बनाउन आगामी साउन देखि वडास्तर वाटै अनलाइन प्रणाली सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । ‘जन्म, मृत्यु, विवाह, लगायतका घटना दर्तालाई व्यवस्थित बनाउने नै हाम्रो पहिलो निर्णय हो’ आचार्यले भने ।
गाउँपालिकाको पहिलो निर्णयमा व्यक्तिगत घटना दर्तालाई पनि अनलाईन प्रणाली मार्फत गरी जनसांख्यिक तथ्याङ्क राख्ने पनि उल्लेख गरिएको छ । गाउँपालिकाको केन्द्र रहेको महादेवेसी बजारलाई सुन्दर बनाउन टोल सुधार समिति गठन गर्ने र बास्तविक भुकम्प पडितलाई तत्काल राहत उपलब्ध गराउने पनि निर्णय भएको उपाध्यक्ष अम्बिका रुपाखेलीले जानकारी दिइन् ।
छातिमा हात राखेर सपथ लिएका सबै जनप्रतिनिधिहरु वफादार भएर काम गर्न कार्यक्रमका अतिथिहरुले सुझाव दिएका छन् । ‘म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वर÷देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका काम साथ गर्नेछु’ जनप्रतिनिधिहरुको सपथमा भनिएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन नियमावली ०७३ संशोधन गरी शपथग्रहणको व्यवस्था गरेको छ । निर्वाचित भएकाहरुलाई कानुनी व्यवस्था अनुसार नै सपथ ग्रहण गराइएको निर्वाचन अधिकृत महेन्द्रराज काफ्लेले बताए ।
कार्यक्रमकैबीच निर्वाचित सबै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र दिइएको छ । सपथग्रहण कार्यक्रममा शुभकामना मन्तव्य दिदैं जिल्ला समन्वय समितीका स्थानीय विकास अधिकारी जीवराज भुसालले सम्पुर्ण अधिकारको कार्यान्वयन वडास्तर वाटै गर्ने स्थानीय निकायको कार्यविधी रहेकोले तल्लो तहको पदमा निर्वाचितहरु पनि सशक्त हुनु पर्ने वताए ।
संशोधित नियमावली अनुसार नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले निर्वाचन परिणाम प्राप्त भएको सामान्यतः तीन दिनभित्र सम्बन्धित निर्वाचन अधिकृतसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने छ । गाउँ कार्यपालिका वा नगर कार्यपालिकाका महिला र दलित वा अल्पसंख्यक तर्फबाट निवार्चित सदस्यले निर्वाचनसँग पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ ।
२०७४ जेठ ५ गते प्रकाशित