Sat. Jul 5th, 2025

कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपपछि धादिङबेसी बन्द


७ जेठ,  धादिङ  –

नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर आइतबार धादिङबेसी बन्द गराएका छन् । बन्दका कारण धादिङबेसीबाट बाहिरिने यातयातका साधनहरु चल्न सकेको छैन भने धादिङबेसीका पसल, व्यवसाय पनि बन्द छ ।

झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बन्द गराएका हुन् । दोषीहरुलाई १२ बजेसम्म पक्राउ नगरे आन्दोलनका कार्यक्रम थप गरिने नेपाली कांग्रेसका नेता रामनाथ अधिकारीले बताए ।

शनिबार साँझ ज्वालामुखी गाउँपालिकाको विजय सभामा सहभागी भएर फर्कने क्रममा मैदीको उखुबारीमा झडप भएको थियो । झडपमा दुबै तर्फका गरी पाँच जना घाइते भएका छन् । कांग्रेसका नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना सहित नरेन्द्र भट्ट र दामोदर भट्ट घाइते भएका छन् ।

एमालेका नारायण पुरी र अमृत आले घाइते भएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपि दिपेन्द्र पञ्जीयारले जानकारी दिए । घाइते सबैजनाको अवस्था सामान्य छ ।

ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा आयोजित विजय सभामा सहभागी भएर फर्कदै गर्दा कांग्रेस कार्यकर्ताले गाडीमा ढुङ्गा हानेपछि प्रतिकारमा उत्रिएको एमालेले जनाएको छ भने एमाले कार्यकर्ताले आफुहरुमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि दिपेन्द्र पञ्जीयार सहितको टोली, सशस्त्र प्रहरी र मैदी प्रहरी चौकीका प्रहरीहरु घटनास्थल पुगेर स्थिति सामान्य पारेका थिए । घटनाको थप अनुसन्धान भईरहेको डिएसपि पञ्जीयारले बताए ।

२०७४ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: