

३१ जेठ, धादिङ –
धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम ‘रुवीभ्याली’को विमोचन गरिएको छ । गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिएका छन् ।
नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताए ।
उनले भने “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ ।” अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे।
नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिए । समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा ९रुवी०, यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ ।
२०७४ जेठ ३१ गते प्रकाशित