Sat. Jul 5th, 2025

मितेरी गाउँ बनाउन धादिङमा सामुदायिक भवन निर्माण

१२ असार,  गल्छीगाउँपालिका (धादिङ) –

 

 
मितेरी गाउँ निर्माण गर्न धादिङको गल्छी गाउँपालिका वडा नं. १ फोस्रेटारमा महिला समूहका लागि सामुदायिक भवन निर्माण गरिएको छ ।

योगदान फाउण्डेसनले नेप्लिज असोसिएसन अफ फ्लोरिडा अन्तर्गत ‘ट्याम्पा बे नेपाली कम्युनिटी’ सँगको सहकार्यमा करिब ४२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । फोस्रेटारलाई मितेरी गाउँको रुपमा विकास गर्न लागिएको संस्थाकी अध्यक्ष एवम् पूर्वमिस नेपाल पुनम घिमिरे रिसालले बताउनुभयो । घिमिरे ‘मिस नेपाल १९९६’ हुन् । ‘फोस्रेटारलाई हामीले अमेरिकाको ट्याम्पा र यस गाउँबीचको मितेरी गाउँको रुपमा विकास गर्दैछौँ, जसले दुई गाउँबीच सद्भाव, सहकार्यको वातावरण बनाउने छ,’ उनले भने ।

स्थानीय सफल महिला कृषक समूहका लागि करिब २ सयजना अट्ने हल, एउटा कोठा, किचन र तीनवटा शौचालयसहितको भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो । नवनिर्मित भवन एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

भवन निर्माणपश्चात स्थानीय महिलाहरु उत्साहित भएका छन् । भवनलाई प्राकृतिक विपद्मा इमर्जेन्सी सेल्टर तथा महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सञ्चालनका लागि प्रयोग गर्न सकिने उनीहरुको विश्वास छ ।

भवन निर्माण भएपछि स्थानीय महिलाहरुलाई सीपमुलक तालिम सञ्चालनका लागि पनि सहज भएको स्थानीय कमला खतिवडाले बताइन् ।

फोस्रेटारका २९ जना महिला सदस्य रहेको यस समूहले सामूहिक खेती गर्दै आएको छ । ६ रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती गरी त्यसबाट आएको पैसाले समूहको कोष सञ्चालन गर्दै आएको अध्यक्ष खतिवडाले जानकारी दिइन् । साथै समूहका सदस्यहरुले मासिक १ सय रुपैयाँ बचत पनि गर्दै आएका छन् ।

२०७४ असार १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: