
१४ असार, दोलखा –
दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा बुधबार बिहान पहिरोले दुई घर बगाएको छ । घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये ३ जना एकै परिवारका हुन् ।
मंगले थामीको घर बगाउँदा उनकी ४० बर्षिया श्रीमती शान्ति थामी, १५ वर्षिया छोरी रोशनी थामी र १२ वर्षिया छोरी सन्तोषी थामी पहिरोमा परेका प्रहरीले जनाएको छ । दोलखाका प्रहरी नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार शान्तिको शव भेटिएको छ ।
उनका दुई छोरी र छिमेकी ७० वर्षिया लाटी थामीको खोजी भइरहेको छ । मंगले थामी भने पहिलो जाने बेला शौचालय गएका कारण बाँच्न सफल भएका छन् । घटनास्थल पुग्न मुडेदेखि ३ घण्टा पैदल हिँड्नु पर्ने प्रहरीले जनाएको छ ।
पहिरोको सूचना पाएसँगै दोलखाबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ । पहिरोका कारण कुत्कुते डाँडागाउँ बस्तीका करिव १५ घरपरिवार उच्च जोखिममा रहेको र उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ ।
२०७४ असार १४ गते प्रकाशित