
१६ साउन, धादिङ –
पत्रकार अनिता बिन्दुले टिपिकल भाकामा तीज गीत बजारमा ल्याएकी छन् । नजिकिदै गरेको नारीहरुको तीज पर्वलाई लक्षित गर्दै ‘प्यारो माइती’ शीर्षकको तीज गीत बजारमा ल्याएकी हुन् । नेपाल टेलिभिजनकी समाचार वाचिका एवं पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले आमा दिदी बहिनीको पीर ब्यथा समेटेर तिज गीत गाएको बताइन् ।
स्कुल पढ्दैदेखि गाउन र नाँच्नमा खप्पिस अनिताले अघिल्लो वर्ष पनि म मन पराइन लाइन बरिलै… भन्दै तीजको गीत गाएकी थिईन् । यसपाली उस्तै टिपिकल शब्द र भाका लिएर आएकी छिन् ।
गण्डक क्षेत्र लोकसंगीतमा सम्पन्न छ । गीत सुन्दा अनितामा पनि गण्डकको प्रभाव प्रसस्तै देखिन्छ । उनका गीत सुन्ने हरेक चेलीले एक पटक वाल्यकालको तीज महसुस् गर्छन् । शहरमा ‘फाष्टफुड’ हुँदै गएको तीजका केही ‘अग्र्यानिक’ पक्षलाई अनिताले तीजगीत मार्फत उजागर गरेकी छिन् ।
डाडा पाखामै हुर्किएकी अनितालाई अहिले पनि याद छ तीजकै लागि भनेर आमाले नयाँ लुगा किनिदिएको । नयाँ लुगा लगाएर घर नजिकै मन्दिरमा नाँच हेर्दै फुरुङ्ग परेर नाँचेको छ । प्राय भदौ र असोजको पहिलो हप्ता पर्ने तीजमा चेलीबेटीहरुले घर माइती गरेको यथार्थ बिर्सेकी छैनन् । आँधी खोला तरेर आउजाउ गर्नुपर्दा धेरैले दुःख पाएको प्रसंग उनको मष्तिष्कमा छँदैछ ।
खोला तर्न नसकेर माझीको प्रतिक्षामा बसेको मात्रै हैन । माइतीघरमा चेलीबेटी जम्मा भएर रमाइलो गरेको प्रसंग पनि छ उनको गीतमा छ ।
२०७४ साउन १६ गते प्रकाशित