शंकर श्रेष्ठ, धादिङ
मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोटकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३७ जना मजदुर मारिएको १३ बर्ष पुगेको छ ।
घटना भएको १३ वर्र्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको शव अहिलेसम्म परिवारले पाएको छैन । विमानस्थल निर्माणका लागि धादिङको जोगिमारा र धुषा गाविसबाट कोटवाडा पुगेका १७ जनाको एकै ठाउँमा हत्या भएको थियो ।

हत्या भएका १७ जना मध्ये चेपाङ, मगर, गुरुङ र विश्वकर्मा परिवारका सदस्य थिए । उनीहरुसंगै गोरखाका ३ जना सहित मकवानपुर र रामेछाप जिल्लाका गरी ३७ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षा फौजले गोली हानी हत्या गरेको थियो । घेराबन्दी गरेर चलाएको गोलीबाट ३७ जना एकै चिहान भएका थिए ।
कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्र बहाली पछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैंयाका दरले राहत दिने निर्णय गरेको थियो । कोटवाडा घटना हुनु केही दिन अघि मात्रै तत्कालिन माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए ।
माओवादीलाई पछयाउँदैै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेका थिए । माओवादी त्यहाँबाट भागेपछि सेनाले घरभित्र बसिरहेका मजदुरहरुलाई माओवादीको आशंकामा विना सोधखोज, विना पहिचान घर बाहिर निकालेर कन्चटमा गोली हानेर मारेका थिए ।
कमाउन गएका घर मुली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको बिचल्ली भएको छ । सरकारले भने घटना भएको १३ वर्ष पुरा हुँदा समेत केही सहयोग नगरेको आरोप पिडित परिवारको छ । दशलाख दिने भनेर आस देखाएको पनि अहिले सरकारले बेवास्था गरेको पिडितको भनाई छ ।

कालिकोटको कोटबाडा विमानस्थलमा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा आईसीआरसीे र नेपाल रेडक्रस सोसाईटी धादिङले जोगीमाराको हेक्रङ्गमा संम्झनाका लागी एक स्मारक र प्रतिक्षालय निमार्ण गरिदिएको छ । कोटवाडामा मारिएकाहरुको सामुहीक अन्त्यष्टि गराईएको विषयलाई समेटेर अन्तिम यात्रा नामक वृत्त–चित्र पनि तयार गरेको छ ।
तर, कालिकोट घटनामा परी मृत्यु भएका परिवारको आँखामा आशु भने अझै ओभाउन सकेको छैन । अब आशु झार्दै सम्झन बाहेक केही नभएको हेक्राङका बुद्धिसरा चेपाङले आँसु झार्दै विलौना गरिन् । कसैको छोरा याद, कसैको श्रीमानको याद त कसैको बुवाको यादमा पीडित परिवारको आँखामा आँसुको भल अझै रोकिएको छैन ।