
२३ भदौ, काठमाडौं ।
रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ ।
दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो । नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भोटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।
आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा जोडेर एक जना आउट हुने बताएपछि अदालतमा मुद्दा परेको थियो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।
रिटको प्रारम्भीक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाउनका साथै आजसम्म १५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको भोट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
२०७३ भदौ २३ गते प्रकाशित