२१ फागुन, रुकुम । रुकुमको खलंगामा होली खेल्दै गरेका एक बालकको ट्रकको ठक्करबाट मृत्यु भएको छ । लु १ ज ५३२२ नम्बरको मालवाहक ट्रकले खलंगाको त्रिवेणी चोकमा ठक्कर दिँदा रुकुम रुघा ७ का १३ वर्षीय नवराज घर्तीको मृत्यु मृत्यु भएको हो ।
विहिबार बिहान ८ बजे होली खेल्दै गरेका घर्तीलाई दाङ तुल्सीपुरबाट सामान लिएर आएको ट्रकले ठक्कर दिएको थियो । तिव्र गतिमा आएको ट्रकले बालकलाई किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बालकलाई किचेर भाग्न खोजेका चालक मिनराज पुनलाई जिल्ला प्रहरी कार्यालय रुकुमले नियन्त्रणमा लिएको छ । बालकका आफन्त र स्थानीयले दोषीलाई कडा कारवाही तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ ।