Sat. Jul 5th, 2025

मेरो धादिङबेंसी

गणेश हिमालबाट आउने चिसो हावा
सल्बलाउँदै बिहानी उषाको लालीसँगै
चिरविर चिरविर चराहरूका आवजले
म एकाबिहानै ब्यूझँन्छु र झ्यालबाट टहल्दै गम्छु
म बसेको धादिङ, मेरो धादिङ ।

कतै नलर्खरावस्
कतै नरालियोस्
उभियोस अटल छाती
मुरली भञ्ज्याङ हुँदै
पुछारबजार, बिचबजार सिरानबजार
शान्तबजार, सुगमटोल, मिलनटोल
एमाले, काँग्रेस, माओवादी चौक अनि चौक चोक
कल्कल् बगिरहेको थोपल खोला
रंगिन फूलवारीको बीचमा
छातीमा सिंचित गराउँदै
साँध सिमाना
देखाउँदैछ अनुसाशनको ।

घर–घरमा आँगनीमा
बेली अनि चमेलीका बोटहरू
गल्ली गल्लीमा पिच सडक
लामबद्ध भएर उभिएका छन्
मित्रवत व्यवहार, अनि यो आत्मियता
सायदै अन्त देखिने
वर्णनयोग्य सादगीपन, लोभलाग्दा छटाहरू
व्यग्र प्रतिक्षामा छ
स्मार्ट सिटीका नौला
आयामहरू स्वागतका लागि ।

तर खै……………
कैले काहिँ
केही रोमाञ्चित भएर
वा केही उच्छ्ङ्खल भएर
मेरो धादिङबेंसी
केही रुमलिएको, दिशाविहन भए जस्तो
अत्यन्तै निर्जन, एकान्तमा
चोकै चोकको झुण्ड जस्तो मात्र लाग्छ
अधवैंशे उमेर मै पक्षघात भएर
प्रायः चोकहरू
डम्पिङ्ग साइड झै
नकारात्मक खुशवु छरिरहेकोछ ।

मर्निङवाक ठेस्याउँने खाल्टा खुल्टी
मुख चलाउँदा किरिकिरी गर्ने बालुवाका कणहरू
दिन कटाउन हुत्याउँदै गरेका पोट, पप्लु टिप्लु
अनि म्यारिचका झटाराहरू
ब्राण्डेड अनि घरपारा को बिर्को सुटक्क खुल्छ
‘चियर्स’ चिच्याउँदै औधी रमाइरहेका हुन्छन्
प्रयाः घाम डुब्नासाथ दाँत साटिएका देखि
चोक–चोकमा उभ्याएका
वत्तिका खम्बाहरू
छरपस्ट निर्माण सामानाका थुप्राहरू
यत्रपत्र सर्वत्र भौतारिएका
वस्तुभाउ लामहरू ।

 

फलाना र डिस्काना पार्टी पूजकहरू
बाटबाटैमा सर्काइरहेका चुरोटका धुँवाहरू
धुँवाधुँवा सर्किएर फलाक्दै गरेकी माइली आमैको अनुहार देख्दा
भक्कानिइरहेको छ मेरो प्यारो धादिङ
अचेल यी र यस्तै दिनचर्याले ।

 

सधैं सधैं बिहानी घण्टी बजाएर
अग्लो डाँडा पुशपतिबाट
कहिले काहीँ मेरो धादिङबेंसी दिक्क भए जस्तो
कहिले नियाउरो जस्तो
कहिले अत्यन्तै भावुक
कहिले असाध्यै रिसाएर
अल्छे डाँडाको टाकुरामा पुगेर होस् वा दाम्गाडेमा पुगी
लामो…………… लामो ………. ठूलो……….. ठूलो. ………
आवाजले घण्टी बजाएर संकेत गर्छ
प्रत्येक चोक–चोकले सुन्ने गरी चिच्याउँछ
उठ, अब धेरै अबेर भैसक्यो
चाडो भन्दा मलाई व्यवस्थित गर
निर्माण गर, उत्पादन गर
सचेतना जगा, चाडो चाडो चोकहरू
अनि मात्र गाउन सुहाउँछ
समृद्ध धादिङका गीतहरू ।

 

तिलक घिमिरे (निर्मल)
हरिवन – १०, सर्लाही
हाल धादिङबेंसी

 

२०७४ कात्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: