Sat. Jul 5th, 2025

धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना मेला

१५ कात्तिक, धादिङ –

धादिङ जिल्लामा नेपालकै चर्चित प्राकृतिक ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका धेरै स्थलहरु रहेका छन् । ती मध्ये गंगा जमुना झर्ना पनि एक हो । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा भव्य मेला लागेको छ ।

धादिङ जिल्लाको सुदूर उत्तरमा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्वको स्थल गङ्गाजमुना सदरमुकाम धादिङ्गबाट झण्डै १२ घण्टाको पैदल दुरीमा अवस्थित छ । पहाडको टुप्पोबाट झरेको झरना र त्यसको मुनि पहरामा रहेको महादेवको मन्दिरमा दर्शन गर्नेहरुको शुक्रबार र शनिबार ठूलै भीड लागेको थियो । जिल्लाका विभिन्न  र छिमेकी रसुवा, नुवाकोट, काठमाडौँ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपरासीलगायतका जिल्लाबाट समेत गंगाजमुनामा पुगेका भक्तजनहरु शनिबार हरिबोधनी एकादशीको दिन पारेर नुहाउन र पुजापाठ गर्नमा व्यस्त देखिन्थे ।

फुलफर्कको डाँडखर्कको मनोरम पहाडको बीचमा रहेको झरना र मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो राज भक्तजनहरु जग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेवको मन्दिरमा नजिकै बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् । मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले जिउँदो परेवा उडाउने गर्दछन् ।

यस ठाउँमा वर्षैभरि निरन्तर झरिरहने दिदीबहिनी अर्थात् गंगा र जमुना नामका दुई झरना पौराणिक कालदेखि प्रसिद्ध छन् । भगिरथ राजाको तपस्याको प्रभावले ब्रह्माबाट प्राप्त भएकी गंगा पृथ्वीमा ओर्लँदा पृथ्वी भासिने भएपछि महादेवले यसै स्थानमा गंगालाई आफ्नो शिरमा थापेको धार्मिक विश्वास छ । प्रचुर जलभण्डार तथा जडिबुटीका हिसावले महत्वपूर्ण रहेको यो स्थान राजधानी काठमाण्डौबाट हवाई दुरीमा झण्डै १२ मिनेमा पुग्न सकिन्छ । यही ठाउँबाट धादिङको उत्तरी क्षेत्रका सल्यानकोट, मुलपानी, आगिन्चोकलगायतका झण्डै एक दर्जन गाउँ विकास समितिमा खानेपानी समेत पु¥याइएको छ । झरनाबाट बगेर गएका पानीबाट ग्रामीण विद्युतीकरण पनि गरिएको छ ।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय ठाउँमा यो झर्ना रहेपनि उचित प्रचार प्रसारको अभावमा यो ठाउँमा अहिलेसम्म उल्लेखरुपमा स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्न सकेका छैनन् । प्राकृतिक र धार्मिक महत्वले भरिएको गंगाजमुनाको विकास र विस्तारमा राज्य र सरोकारवालाहरुले बेलैमा ध्यान दिने हो भने यो ठाउँ नेपालको उत्कृष्ट धार्मिक एक पर्यटकीय गन्तव्य बन्नेमा दुईमत छैन ।

२०७४ कात्तिक १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: