

१५ कात्तिक, धादिङ –
त्रिशुली नदिमा भएको बस दुर्घटनाको छानविन गर्न सरकारद्धारा गठित छानविन टोली धादिङ आएका छन् । गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित टोलीले बुधबार घटनास्थलको अनुगमन गरेका हुन् । टोलीले सडकको अवस्था, सडक छेउमा राखेका कन्फिडेन्टवाल र ग्याभिन जाली सबैको निरिक्षण गरेका छन् ।
घटनाको बारेमा जाँचवुझ गर्न घटना स्थल आएका छानविन आयोगको सदस्य भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सह सचिव राजेन्द्र शर्मा काफ्लेले तीब्र गतिका कारण बस दुर्घटना हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
टोलीले सवारी दुर्घटना भएका क्षेत्रका सडकहरुको समेत अवलोकन गरेका थिए । चालकको लापारबाहीका कारण दुर्घटना भएको सडक प्राविधिकहरुको भनाई छ । मन्त्रालयले सार्वजनिक यातयात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनुपर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् । समितिले भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।
दुर्घटना न्यूनिकरणका लागि प्रहरीले ठाउँठाउँमा चेकजाँच तथा प्रहरी सहायता कक्षको स्थापना गरेको छ । दैनिकजसो हुने सवारी दुर्घटनालाई रोक्न अब विशेष कार्यक्रम ल्याउने धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए ।
सप्तरीको राजविराजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्रीबस धादिङको गजुरीगाउँपालिका स्थित बांगेमोडस्थित त्रिशुली नदिमा खस्दाँ बसमा सबार ३१ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । चालक भने अझै फरार रहेको धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए ।
२०७४ कात्तिक १५ गते प्रकाशित