

सरिता श्रेष्ठ / १७ कात्तिक, धादिङ –
‘मलाई पूर्ण विश्वास छ, फेरी पनि जनताको प्रतिनिधि भएर काम गर्ने अवसर मिल्ने छ । स्पष्ट, पारदर्शी र ठोस निर्णयका लागि सदैव तयार छु र रहने प्रतिबद्धता छ । ’ सामाजिक सञ्जाल फेसबुकमा धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार दिलमान पाख्रिनले राखेको स्टाटस हो यो । कानुन राज्यमन्त्री समेत रहेका उनले फेसबुकमा कानुन राज्यमन्त्री दिलमान पाख्रिन नाम राखेर मतदातासँग भोटको अपिल गरेका छन् ।
उनी मात्र होइन प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार भूमि त्रिपाठीको फेसबुकको वालपनि रंगीन भएको छ । सामाजिक एकता र आर्थिक समृद्धिको आधार नेकपा एमाले को नेतृत्वमा स्थिर र बलियो सरकार, खुसी नेपाली समृद्ध नेपाल भनेर फोटो सहित उनको वालमा देख्न सकिन्छ । उनका समर्थन तथा कार्यकर्ताहरुले फेसबुकमा फोटो राखेर भोटका लागि अपिल समेत गरेका छन् । उनी भन्छन् – ‘अहिले हरेकको हातमा मोबाइल, फेसबुक अकाउन्ट छ, त्यसको सकारात्मक उपयोग त गर्ने प¥यो ।’
धादिङमा मंसिर १० गते हुने निर्वाचनमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा गरी छ क्षेत्रमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ । छ क्षेत्रमा यी दुवै गठबन्धनका गरी १२ जना सहित अन्य दलका उम्मेदवारको फेसबुक वाल रंगीन बनेको छ । समर्थनले उम्मेदवारको नामको पछाडि जिताऔँ अभियान लेखेर सामाजि सञ्जालमा प्रचार गरेका छन् । आफूले गरेका कामलाई सामाजिक सञ्जालमा राखेर मतदातासँग भोट मागिरहेका छन् । उम्मेदवारहरुको प्रोफाइल चुनावी नाराले रंगीचंगी बनेका छन् । इतिहासदेखि भावी योजनासम्म सामाजिक सञ्जालमा राखेका छन् ।
प्रदेश नं २(२) बाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जगत सिम्खडा पनि सामाजिक सञ्जालमा निकै व्यस्त देखिन्छन् । जनताका घरघरमा, टोलटोलमा गएर भोट मागिरहेका फोटोहरु, चुनावी कार्यक्रम, आमसभाका फोटोहरु आफ्नो फेसबुकमा पोष्ट गर्ने गरेका छन् । फेसबुकमा फोटो राख्दै उनी भन्छन् – ‘शान्ति र समृद्धिको लागि हामीलाई भोट दिन नभुल्नु होला है’ । अहिलेका युवा पीडिहरु खासगरी सामाजिक सञ्जाल बढी चलाउने गर्दछ । ‘प्रविधिको विकाससँगै सबैको हातमा मोबाइल, ल्यापटपको सुविधाका कारण भोट माग्ने शैलि पनि परिवर्तन भएको छ ।’ उनले भने ।
बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली समाजमा प्रचलित यो भनाईलाई उम्मेदवारहरुले चरितार्थ गरिदिएका छन् । आफूले गरेका क्रियाकलाप, कामको बारेमा तस्विर मार्फत आफै बिकाएका छन् । नुनदेखि सुनसम्मका हरेक विषयलाई सामाजिक सञ्जालको जालमा पारेका छन् ।
आजभोलि चुनावी अभियानमा सामाजिक सञ्जालको अधिकतम प्रयोग कर्ता बढेको छ । खासगरी युवाहरु बाहिरी चुनाव प्रचारमा भन्दा पनि सामाजिक सञ्जाल फेसबुकm टुईटर लगायतका सञ्जालमा उम्मेदवारको फोटो राखि जिताऔँ अभियानमा होमिएका छन् । स्वदेशमा मात्र होइन संसारभरीका मानिसहरुले एकसाथ अभियानमा साथ दिनका लागि पनि त्यसको प्रयोग गर्ने गरेका छन् ।
निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारले सामाजिक सञ्जालको भरपुर उपयोग गरेका छन् । मतदातालाई आकर्षित गर्न आफ्ना भाबी योजना तथा कार्यक्रमहरु सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका छन् । अघिल्ला कार्यक्रमहरुमा गाउँगाउँ र टोलटोलमा गएर अन्र्तक्रिया र चुनावी सभा गरी आफ्ना एजेन्डा प्रस्तुत गरेकाहरु अहिले सामाजिक सञ्जाल मार्फत भोट माग्न व्यस्त छन् । सामाजिक सञ्जाललाई चुनावी प्रचारको मूख्य माध्यम बनाएका छन् । कामको व्यस्तता, समय अभाव र बदलिदो परिस्थितिसँगैँ मानिसले सूचना लिने माध्यमपनि परिमार्जित गरेका छन् ।
पछिल्लो समय आमसभा, कोणसभा भन्दा पनि सामाजिक सञ्जालमा फोटो राखेर स्टाटस पोष्टनहरुको कमी छैन । कार्यक्रममा सहभागी भएका फोटो राखेर जिताऔँ भन्नेहरुको पनि लर्को लागेको छ । सामाजिक सञ्जालमा कम छाउने उम्मेदवारहरुको पनि समर्थित कार्यकर्ता नारासहित चुनावी प्रचारमा होमिएको देखिन्छ । यो समयमा मन परेका उम्मेदवारको राम्रा र मन नपरेका उम्मेदवारका नराम्रा कुराहरु पनि पोष्टिएको देखिन्छ । सामाजिक सञ्जाललाई पनि निकै नै प्रभावकारी माध्यम बनाएका छन् ।
२०७४ कात्तिक १७ गते प्रकाशित