

१८ कात्तिक, धादिङ –
कात्तिक ११ गते धादिङको गजुरीगाउँपालिका वाड नं ५ बांगेमोडस्थित त्रिशुली नदिमा भएको बस दुर्घटनामा ‘चालकको लापरबाही’ कारण देखिएको छानबिन समितिले औल्याएको छ ।
दुर्घटनास्थलमा सडकको घुम्ती मोड्न (४० मिटर) पर्याप्त रहे पनि चालक निदाउँदा बस सीधै त्रिशूलीमा खसेको समितिको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले ठहर गरेको हो । ‘नेपालमा सडकको अर्धव्यास ३० मिटरसम्म रहेको हुँदा दुर्घटनास्थलमा रहेको घुम्ती त्यति गाह्रो होइन,’ समितिका एक सदस्यले भने । दुर्घटनास्थलको अध्ययन–विश्लेषणपछि समिति उक्त निचोडमा पुगेको ती सदस्यले जानकारी दिए ।
समितिले लामो दूरीको बसमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था लागू नहुनुलाई गजुरी दुर्घटनाको प्रमुख कारक औंल्याएको छ । उक्त व्यवस्था प्रभावकारी कार्यान्वयन नहुनुमा ट्राफिक प्रहरीसमेत दोषी रहेको समितिको ठहर छ ।
११ कात्तिकको दुर्घटना छानबिनका लागि गठन गरिएको समितिले सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन सुझाव पनि अघि सारेको छ । सवारीधनी, चालकदेखि विभिन्न सरोकारवालासँगको छलफल र अन्तक्र्रियाका आधारमा समितिले सुझाव अघि सारेको हो ।
यसै क्रममा गृह मन्त्रालयले गएको साता सडक दुर्घटना न्यूनीकरणमा सुझाव संकलनका लागि राष्ट्रियस्तरको छलफल आयोजा गरेको थियो । छलफल र अन्तक्र्रियापछि सडक दुर्घटनाका केही उदेकलाग्दा कारण उजागर भएको र तिनको निराकरणका लागि सरकारलाई आवश्यक सुझाव दिने समितिका एक सदस्यले जनाए । समितिले सडक छेउमा रहेका पानीका धारालाई पनि दुर्घटनाको कारकका रूपमा औंल्याउँदै तिनलाई तत्काल हटाउन सुझाएको छ । समितिसँग छलफलमा चालकहरूले सडकछेउ रहेका पानीका धारामा हुने भीडभाडले ध्यान मोड्ने गरेको बताएका थिए ।
त्यसैगरी सडक छेउका होर्डिङ बोर्ड पनि दुर्घटनाको कारक रहेकाले हटाउने निष्कर्ष पनि समितिले निकालेको छ । राजमार्ग अतिक्रमण गरी बनाइएका टहरा पनि दुर्घटनाका कारक देखिएकाले तत्काल हटाउन सुझाइएको छ ।
२०७४ कात्तिक १८ गते प्रकाशित