

२० कात्तिक, धादिङ –
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । धादिङमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ । धादिङमा प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लाग चारवटा गरी छ वटा सीट रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा काँग्रेसका तर्फबाट युवा व्यवसायी विश्व अर्याल र एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठीबीच प्रतिस्पर्धा हुनेछ । अर्याल राजनीति भन्दा व्यवसायी छविबाट चर्चामा आएका व्यक्ति हुन् भने त्रिपाठी अधिबक्ता हुन् । दुवै नेता युवा पंक्तिका आकर्षण छवि हुन् । त्रिपाठी नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं १ बाट बामगठबन्धनले ५९ हजार आठ सय ६८ मत प्राप्त गरेका थिए भने लोकतान्त्रिक गठबन्धनले १४ हजार ५ सय ६५ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठबन्धन ४५ हजार ३ सय ३ मतले पछाडि छ । विगतको स्थानिय निर्वाचनमा हालको निर्वाचन क्षेत्र नं १ मा तुलनात्मक रुपमा नेपाली काँग्रेस कमजोर छ । यस क्षेत्रमा काँङग्रेसले नयाँ अनुहार अघि सारेको छ ।
प्रदेश १(क) मा काँग्रेसको तर्फबाट मुधकुमार श्रेष्ठ, एमालेका तर्फबाट पूर्व सांसद राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन् । पाण्डे उम्मेदवार रहेको धुनीबेसी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका तीनै स्थानीय तहमा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले जित हाँसिल गरेको थियो । यस क्षेत्रमा बामगठबन्धन २२ हजार ३ सय ८४ मतले बढी छ । बामगठबन्धने ३२ हजार एक सय ८४ मत ल्याएका थिए भने लोकतान्त्रिक गठबन्धनले नौ हजार आठ सय मत पाएका थिए ।
प्रदेश १(ख) बाट काँग्रेसबाट प्रभातकिरण सुवेदी र माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष शालिकग्राम जम्मरकट्टेल भिड्दै छन् । सुवेदी गत संविधान सभाको चुनावमा माओवादी केन्द्रबाट काँग्रेस प्रवेश गरेका हुन् । सुवेदी २०७० सालाको संविधान सभाको निर्वाचनमा जम्मरकट्टेलका विश्वशिला पात्र थिए । पार्टी परित्यागपछि जम्मरकट्टेलका सम्पर्क बाहिर रहेका सुवेदीलाई जम्मरकट्टेलसाग चुनाव लड्न फलामको चिउरा बनेको छ । जम्मरकट्टेल मजदुर फाँटबाट राजनीतिमा सक्रिय रहेकाले यस भेगको राम्रो जनमत उनको पक्षमा देखिन्छ ।
एमाले पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डेले समेत उनलाई नै मतदान गर्नेछन् । जम्मरकट्टेल उठेको क्षेत्रमा पर्ने तीन गाउँपालिका मध्ये एक माओवादी केन्द्र र दुई वटा नेकपा एमालेले विजयी हाँसिल गरेको क्षेत्र पर्दछ । यस क्षेत्रमा स्गानीय तहको निर्वाचनमा बाम गठबन्धनले २७ हजार छ सय ८४ मत प्राप्त गरेका थिए भने लोकतान्त्रिक गठबन्धनले चार हजार सात सय १८ मत प्राप्त गरेका थिए । बामगठबन्धनले लोकतान्त्रिक गठबन्धनको तुलनामा २२ हजार नौ सय ६६ मत बढी ल्याएका थिए ।
२०७४ कात्तिक २० गते प्रकाशित