
२१ कात्तिक ,काठमाडौं
पर्यटकको भेषमा नेपाल आएर विभिन्न व्यक्तिको एटीएम कार्डको पिनकोड नम्बर चोरी रकम निकाल्न पल्केका पूर्वी युरोपका १५ नागरिक प्रहरीले पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्यटकको भेषमा नेपाल छिर्ने अनि अरुको एटीएम प्रयोग गरी रकम चोर्ने विदेशी चोरलाई कानुनी दायरामा ल्याएको छ ।
करिब २ वर्षको अवधिमा १५ विदेशी चोर प्रहरीको फन्दामा परेका हुन् । उनीहरुमध्ये केहीलाई सजाय भुक्तान गरी स्वदेश फिर्ता गरिएको छ भने केही अझै जेलमा छन् । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार ४ जना रोमानियन, ४ जना टर्किस, ३ जना बुल्गेरियन र ४ जना मोल्दोभियन नागरिकले एटीएमको पिन चोरी गरेर रकम निकालेको भेटिएपछि कारवाहीमा परेका छन् । उनीहरुबाट ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय ४५ अमेरिकन डलर र ७३ हजार ८ सय ७५ युरो बरामद भएको छ ।
त्यसैगरी उनीहरुले रकम चोरी गर्दा प्रयोग गरेका उपकरण पनि ठूलो परिमाणमा बरामद भएका छन् । १४ सय ३९ थान एटिएम कार्ड, ठूलो परिमाणमा कार्ड स्क्यानिङ डिभाइस, स्पाई क्यामेरा, ल्यापटपलगायत सामग्री बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
२०७४ कात्तिक २१ गते प्रकाशित