
२१ कात्तिक, काठमाडौं
एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली यु–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ ।
आगामी शनिबारबाट सुरु हुने एसिया कपको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली त्यसतर्फ जानेछ ।
नेपाली टोली बंगलादेशमा एकसाताको विशेष तयारीपछि मलेसिया जान लागेको हो । नेपालले बंगलादेशमा बंगलादेशको यु–१९ टोलीसँग ३ अभ्यास खेल खेलेको थियो । नेपालले अन्तिम अभ्यास खेलमा बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल पहिलो अभ्यास खेलमा बंगलादेशसँग ३ विकेट र दोस्रो अभ्यास खेलमा १२३ रनले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल कठिन मानिएको समूह समूह ‘ए’ मा परेको छ । नेपाल ३ पटकको च्याम्पियन तथा टेष्ट राष्ट्र भारत रहेको समूहमा रहेको छ । समूह ‘ए’मा नेपालसँगै भारत, बंगलादेश र आयोजक मलेसिया रहेको छ । त्यस्तै समूह बी मा श्रीलंका, अफगानिस्तान र पाकिस्तान रहेको छ ।
समूह बी को एक टोली तय भएको छैन । एक टोली भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछन् । वेष्टर्न रिजनको फाइनलमा आज युएई र कुवेत प्रतिस्पर्धा गरिरहेका छन् ।
२०७४ कात्तिक २१ गते प्रकशित