
२२ कात्तिक ,चितवन
यही कार्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको सेतीदोभान ९२० प्लस ४००० मा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।
भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुनेछ । सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुवै तर्फ सवारी रोकी ढुंगा झारेर सो क्षेत्रलाई सुरक्षित बनाउने कार्य गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।
यस्तै बैठकले सो सडक खण्डमा अझै पनि खाल्डाखुल्डी भएकोले सम्बन्धिन निर्माण कम्पनीलाई सडकलाई सम्याउन निर्देशन दिएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले धमाधम पिच निर्माणका कामहरु भईरहेका छन् ।
२०७४ कात्तिक २२ गते प्रकाशित