
२६ कात्तिक, धादिङ –
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक बढेसँगै प्रदेशका मुख्यमन्त्रीको चर्चा पनि बढेको छ । देशकै राजधानी रहेको तीन नम्बर प्रदेशमा मुख्य मन्त्री को होला भन्ने सबैमा चासो परेको छ । वामपन्थी गठबन्धनको राम्रो प्रभाव रहेको प्रदेश नम्बर ३ मा मुख्य दलहरुले भावी मुख्यमन्त्रीको रुपमा बिभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाएका छन् ।
पूर्वमन्त्री एवं एमाले नेता राजेन्द्रप्रसाद पाण्डे धादिङबाट प्रदेशसभाको लागि उम्मेदवार बनेका छन् । उनी २०६४ को संविधानसभा बाहेक अरु सबै संसदीय भूमिकामा सक्रिय छन् । एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेबाट भावी मुख्यमन्त्रीका रूपमा लिइएको छ ।
तर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि काठमाडौंबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेपछि मुख्यमन्त्रीको रुपमा भावी उम्मेदवार यो नै हुन्छ भनेर यकिन गर्न गाह्रो देखिएको छ । शाक्य पार्टीको उपाध्यक्ष र महिला नेतृ भएका कारण एकालेबाट भावी मुख्यमन्त्रीको रुपमा शाक्यलाई मुख्य दावेदारको रुपमा हेरिएको छ ।
दोलखाबाट प्रदेशसभा उम्मेदवार बनेका एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाई र काठमाडौंबाट उम्मेदवार बनेका सानु श्रेष्ठलाई पनि मुख्यमन्त्रीको दावेदारको रुपमा लिइएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित पनि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ को प्रदेशसभामा एमालेकातर्फबाट उम्मेदवार बनेकाले मुख्यमन्त्रीको लाइनमा स्थापित पनि अभिएका छन् । एमालेका निवर्तमान सांसद रामेश्वर फुँयाल र राजाराम स्याङतान पनि काठमाडौ र मकवानपुरबाट प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। यी दुवैजना नेताले ०७० को संविधानसभामा प्रत्यक्षतर्फ जितेका थिए ।
नेपाली कांग्रेसमा ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा युवा नेता गगन थापालाई अगाडि सार्ने चर्चा भए पनि एमाले र माओवादीको गठबन्धन बनेपछि उनलाई पछाडि सारिएको छ । थापा काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार हुन् । कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे काभ्रे र पूर्वसांसद राज्यलक्ष्मी श्रेष्ठ काठमाडौंबाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । संसदको अनुभव र अभ्यासका कारण कांग्रेसले यी दुईमध्ये एक जनालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने अनुमान गरिएको छ ।
माओवादी केन्द्रका अधिकांश पूर्वसांसद प्रदेशसभाको उम्मेदवार बनेका छन । कृषिराज्यमन्त्री एवं माओवादी केन्द्रकी पूर्वसांसद राधिका तामाङ नुवाकोटबाट प्रदेशसभाको उम्मेदवार हुन्। माओवादी केन्द्रका नेता शालिकराम जम्मरकट्टेल धादिङ, माओवादी केन्द्रकी पूर्वसांसद कुमारी मोक्तान मकवानपुरको १ नम्बर क्षेत्रको ‘क’ र राजकाजी महर्जन ललितपुरको ३ नम्बरको ‘क’ बाट प्रदेशसभाका लागि उम्मेदवार हुन् ।
२०७४ कात्तिक २६ गते प्रकाािशत