

२६ कात्तिक, धादिङ –
धादिङमा मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् ।
प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लाग चारवटा गरी छ वटा सीट रहेकोमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ मा काँग्रेसका तर्फबाट युवा व्यवसायी विश्व अर्याल र एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठीबीच प्रतिस्पर्धा हुनेछ । अर्याल राजनीति भन्दा व्यवसायी छविबाट चर्चामा आएका व्यक्ति हुन् भने त्रिपाठी अधिबक्ता हुन् । दुवै नेता युवा पंक्तिका आकर्षण छवि हुन् । त्रिपाठी नेकपा एमालेका जिल्ला अध्यक्ष हुन् विगतको स्थानिय निर्वाचनमा हालको निर्वाचन क्षेत्र नं १ मा तुलनात्मक रुपमा नेपाली काँग्रेस कमजोर छ । यस क्षेत्रमा काँङग्रेसले नयाँ अनुहार अघि सारेको छ ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमालेका उम्मेदवार भूमि त्रिपाठीले आफ्नो उम्मेदवार नै नभएको बताएका छन् । ‘बामगठबन्धन झण्डै ४ गुणाले अगाडि छ । त्यसैले हाम्रो जित सुनिश्चित छ । कोही कसैसँग प्रतिस्पर्धा नै गर्नुपर्दैन’ – त्रिपाठीले भने । त्रिपाठीका प्रतिद्धन्द्धी नेपाली काँगे्रसका विश्व अर्यालले स्थानीय तहको निर्वाचनलाई अहिले जोड्न नमिल्ने बताउँछन् । आफू जनताको विश्वासको पात्र बनिसकेको दाबी गर्दै आफ्नो पक्षमा मत आउने बताएका छन् ।
प्रदेश १(क) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे पनि आफ्नो कोही प्रतिस्पर्धी नै नदेखेको बताएका छन् । पाण्डे उम्मेदवार रहेको धुनीबेसी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका तीनै स्थानीय तहमा बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले जित हाँसिल गरेको थियो । यस क्षेत्रमा आफ्नो कुनै पनि प्रतिस्पर्धी नभएको पाण्डेले बताए । उनले भने, ‘म २०४८ सालदेखि नै ४ पटकसम्म केन्द्रिय संसदमा जितेर संसदमा सचेतक, पार्टीको तर्फबाट मन्त्री भइसकेको मान्छे हो ।’ जनताले म र मेरो कामलाई विश्वासका साथ हेरेका छन् । पाण्डेका प्रतिस्पर्धी छन्, काग्रेसका मधुकुमार श्रेष्ठ । युवाको ढुकढुकीमा गनिने श्रेष्ठ युवाका विश्वासका पात्र हुन् । उनी भन्छन्–‘अबको नेतृत्व युवालाई दिनुपर्छ ।’ युवापीडिले आफूलाई सहयोग गर्नेमा उनी ढुक्क छन् ।
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ स्थानीय तह मध्ये ८ वटा एमाले, ३ वटा नेपाली काँग्रेस, १ वटा माओवादी केन्द्र र १ वटा राप्रपाले जितेको थियो । गत स्थानीय निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकल चुनावी प्रतिस्पर्धामा थिए भने अधिकांश स्थानमा नेपाली काँग्रेस र माओवादी केन्द्रले कार्यगत एकता गरेको थिए ।
२०७४ कात्तिक २६ गते प्रकाशित