
सरिता श्रेष्ठ / २७ कात्तिक, धादिङ –
‘हाम्रो पार्टीलाई भोट दिनुहोस् गाउँमा मोटरबाटो ल्याउँछौँ, शिक्षा, स्वास्थ्य, विजुलीबत्ती, स्वच्छ खानेपानी तत्काल उपलब्ध गराउँछौँ’ चुनाव आएपछि प्रत्येक उम्मेदवारले मतदातालाई भन्ने अजेण्डा हो यो । अरु समयमा शहरमा सिमित उम्मेदवारहरु चुनावको समयमा भने गाउँगाउँमा यस्ता अजेण्डा बोकेर मतदातालाई रिझाउने गरेका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवारले उस्तै अजेण्डा बोकेर गाउँ पसेका छन् ।
रुविभ्याली ३ सेर्तुङका मरिचमान तामाङले चार पटक चुनावमा भोट हालिसकेका छन् । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचन, २०६४, २०७० सालमा भएको संविधान सभाको चुनाव, २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मरिचमानले भोट हालिसकेका छन् । ‘प्रत्येक निर्वाचनमा उम्मेदवार भोट माग्न घरमै आउँछन्, अनि पहिलेकै अजेण्डा बोकेर आउँछन्, गाउँमा मोटरबाटो, विजुलीबत्ती पु¥याउने कुरा गर्छन् तर अहिलेसम्म पूरा हुन सकेको छैन’–मरिचमानले भने । उम्मेदवारका अजेण्डा हात्ती आयो हात्ती आयो फुस्स जस्तै भएको छ । उनले भने –‘प्रत्येक निर्वाचनमा फरक फरक उम्मेदवार आउँछन् तर अजेण्डा उस्तै हुन्छन्, हामीले त उम्मेदवारका अजेण्डा पत्याउनै छाडि सक्यौँ ।’
धादिङको उत्तरी क्षेत्रको रुविभ्यालीमा पर्ने लापा, तिप्लिङ र सेतुङमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन । भौगोलिक क्षेत्रमा पछि परेको यस क्षेत्रका स्थानीय सदरमुकाम पुग्न तीन दिनको पैदल यात्रा पार गर्नुपर्ने हुन्छ । गाउँमा मोटरबाटो पु¥याई सदरमुकामसम्म जोड्ने जिम्मा लिएका उम्मेदवारले अहिलेसम्म बाटो पु¥याउन सकेका छैनन् । न त शिक्षाको पहुँच छ, न स्वास्थ्यको नै, बिरामी हुदाँ कि त हेलिकप्टरको प्रयोग गर्नुपर्छ कि भने मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ । उत्तरमा पर्ने रुविभ्याली क्षेत्र पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको ठाउँ हो । गणेशहिमालमा पर्यटन भित्राउन, पर्यटन प्रवद्र्धन तथा होमस्टे संचालन, ट्रेकिङ रुट बनाउने कार्य प्रत्येक उम्मेदवारहरुको अजेण्डाभित्र पर्ने गरेको छ । तर निर्वाचन अगाडि तेर्साइएका यस्ता अजेण्डा जस्ताको तस्तै हुने गरेका छन् ।
‘उम्मेदवार भोट माग्न आउनेहरु हाम्रा समस्या बुझ्ने खालको हुनुपर्छ, गाउँको विकासमा जोड दिनुपर्छ,’ सेर्तुङका सर्जीमाया तामाङले भनिन् । उपचार नपाएर धेरै महिलाले ज्यान गुमाउनुपरेको छ, खाद्यन्नको सधै अभाव हुने गर्छ हाम्रा समस्या कहिले समाधान हुन्छ ? उनी हरेक उम्मेदवारलाई यसरी नै प्रश्न गर्छिन् । गाउँका महिला सुत्केरी हुदाँ स्वास्थ्य चौकी समेत जाने ठाउँ छैन । बिरामी हुदाँ उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको छ । रोजगारीका लागि बाहिरी मुलुक ताक्नुपर्ने हुन्छ । गाउँमा उत्पादन भएका डोकोथुन्से बजार नपाएकै कारण त्यतिकै खेर जाने गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं २ मा पर्ने यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दिलमान पाख्रिन र बामगठबन्धनबाट नेकपा एमालेका खेम लोहनी उम्मेदवार बनेका छन् । यी दुवै उम्मेदवारका अजेण्डा पनि विगतका उम्मेदवारको भन्दा फरक छैन । रुविभ्यालीलाई सदरमुकाम जोड्ने, रुविभ्यालीको पर्यटन, प्रवद्र्धन गर्ने, भूकम्पबाट भत्किएका घरको पुननिर्माण गर्ने जस्ता अजेण्डा उम्मेदवारले ल्याएका छन् । हिमाली क्षेत्रमा पाईने जडीवुटी संकलन तथा प्रशोधन र प्रवद्र्धनमा विशेष कार्यक्रम संचालन गर्ने, प्रत्येक गाउँमा बाटोघाटो निर्माण तथा खानेपानी, सरसफाई गर्ने अजेण्डा रुविभ्यालीबासीले प्रत्येक निर्वाचनमा सुनिसकेका छन् । त्यस्ता अजेण्डालाई मतदाताले एक कानले सुन्ने, अर्को कानले उडाइदिने गरेका छन् ।
मरिचमानजस्तै नीलकण्ठका इमनारायण श्रेष्ठले पनि सबै निर्वाचनमा भोट हाल्दै आइरहेका छन् । उम्मेदवार आउँछन्, गाउँको परिर्वतन गरिदिन्छु भन्छन्, भोट माग्छन्, अनि जान्छन्, इमनारायणले भने । कुन चाँहि उम्मेदवारका कुरा पो पत्याउनु ? आजकाल त विश्वासै लाग्न छोडिसक्यो । प्रत्येक स्थानीयतहमा मोटरबाटो पुयाउने अजेण्डा राखेका उम्मेदवारले सदरमुकाम छेउछाउमा नै मोटरबाटो पुयाउन सकेका छैनन् । विकास निर्माण तथा नमुना शहर निर्माणका विषयहरु उम्मेदवारका एजेण्डामै सिमित छन् ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदरवारहरुको अजेण्डा पनि उस्तै उस्तै छन् । भूकम्पपछिको पुननिर्माण, ग्रामीण क्षेत्रमा मोटरबाटो निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीदेखि बुढिगण्डकी आयोजना निर्माणका विषयलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् । यस्ता विषय यस भन्दा अघि उम्मेदवार बनेकाले पनि राखेका थिए तर अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
२०७४ कात्तिक २७ गते प्रकाशित