Sat. Jul 5th, 2025

उत्पादन कम हुदाँ तरकारीको भाउ आकाशियो

फाइल फोटो

सरिता श्रेष्ठ / २८ कात्तिक,  धादिङ –

बजारमा तरकारीको भाउ आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी व्यापारीले दोब्बर भाउमा बिक्रि गर्ने गरेका छन् । सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, काउली, गोलभेडा लगायतका तरकारीको मूल्य दोब्बरले बढेको छ । उता उपभोक्ताहरु महँगो मूल्य हाल्दा पनि राम्रो तरकारी पाउन नसकेको गुनासो गरिरहेका छन् । बजारमा तरकारीको भाउ दिनानुदिन बढ्दै गएपनि तरकारी उत्पादक किसानको भने स्थित छ ।

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा तरकारी उत्पादनमा कमी आएको छ । तरकारी उत्पादन हुने जीवनपुर, नौविसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी, धुषा, नलाङ, सलाङका क्षेत्रमा बढ्दो औद्योगिकिकरण र बस्ती विस्तारले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए । ‘गत वर्षको तुलनामा तरकारी उत्पादन कम भएका कारण बजारमा तरकारीको मूल्य बढेको हो’, देवकोटाले भने । तरकारीको पकेट क्षेत्र मानिने धुनीबेसी नगरपालिकाको जीवनपुर, नौविसे क्षेत्रमा पछिल्लो समय इट्टाभट्टा तथा औद्योगिक क्षेत्रको विस्तार बढेको छ । ‘उत्पादन हुने क्षेत्रमा बस्ती बिस्तार भएका कारण पनि तरकारी उत्पादन कम भएको हो ’ उनले भने । आपूर्ति कम भएका कारण तरकारी मूल्य फरक पर्न गएको उनले बताए ।

यहाँ उत्पादन भएका तरकारी काठमाडौँको कालीमाटी, बल्खु, पोखरा, चितवन लगायतका ठाउँहरुमा निर्यात गरिने गर्दछ । जिल्लामा ६ हजार २ हेक्टर जमिनमा तरकारी खेती गरिन्छ । यसबाट वार्षिक रुपमा ७२ हजार २४ मेट्रिकटन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय धादिङको तथ्याङकमा उल्लेख छ । उत्पादन भएका तरकारी जिल्लाबाट वार्षिक रुपमा ५४ हजार १८ मेट्रिकटन तरकारी अन्य जिल्लाहरुमा निर्यात हुने गर्दछ । गत वर्ष हिउँदको समयमा २८ हजार नौ सय ५५ मेट्रिकटन उत्पादन भएको थियो तर अहिले २६ हजार ५१ मेट्रिकटन तरकारी उत्पादन भएको कार्यालयले जानकारी दिएको छ ।

तरकारी संकलन केन्द्र धार्केबाट मात्रै दैनिक १० देखि १५ टन तरकारी कालीमाटी र बल्खु पठाइने गर्दछ । अघिल्लो वर्षतिर २० देखि २५ टनसम्म तरकारी पठाइदै गएकोमा यो वर्ष तरकारी उत्पादन घटेको व्यापारी प्रमोद कोइराला बताउँछन् । उनले भने – असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको हो । तरकारी उत्पादन गरेर लाखै कमाउने किसानहरु इट्टाभट्टाले धर्मसंकटमा परेका छन् । पहिले तरकारी पल्ने फाँटमा अहिले जताततै इट्टाभट्टा मात्रै देख्न सकिन्छ । ‘तरकारीको पकेट क्षेत्रमा जथाभावी इट्टा उद्योग संचालनले तरकारी उत्पादनमा कमी आएको छ, किसानको रोजीरोटी संकटमा परेको छ’, कोइरालाले भने । कृषि उपजमा तोकिएभन्दा बढी नाफा लिन मिल्दैन भनेर सरकारले नीति ल्याउने हो भने मूल्यमा मनपरी नुहने व्यापारीहरु बताउँछन् ।

अहिले किसानले काउली ६० रुपैयाँ, सिमि ७० रुपैया, लोकल सिमि ६० रुपैया, हरियो प्याज ८० रुपैया, साग ३० रुपैया प्रति किलोमा व्यपारीलाई बेच्ने गरेका छन् । किसानसँग यति पैसामा लिएको तरकारी व्यापारीले दोब्बर, तेब्बर गरेर बेच्ने गर्छन् । उता उपभोक्ता भने तरकारीको भाउले भान्सा महङगीएको गुनासो गर्छन् । उपभोक्ताहरुले तिरेको मुल्यको झण्डै तिन गुणा कम मुल्य मात्रै तरकारी उत्पादक किसानहरुले पाउने गरेको उनीहरुको भनाई छ ।

 सरकारले बजार मुल्यमा एकरुपता र विना विचौलीया सोझै किसानले तरकारी विक्री गर्न पाउने हो भने यो आम्दानीमा झण्डै दोब्बर हुने किसानहरु बताउँछन् । राज्यले पनि कृषि उपजमा कति नाफा लिन पाउने भन्ने उपयुक्त नीति बनाउनु आवश्यक छ । उत्पादन गरेको तरकारी जन्य बस्तुहरुको बजार ब्यवस्था गरिदिएको खण्डमा किसानहरुलाई सहज हुने र युवा पुस्ता समेत ब्यवसायिक कृषीतर्फ आकर्षित हुने किसानहरुको भनाई छ ।

विशेष गरि धादिङको दक्षिणी र राजमार्ग क्षेत्रमा तरकारीको उल्लेख्य मात्रामा खेती हुँदै आएको छ । किसानहरुले उत्पादित तरकारी भने आँफैले खोलेको संकलन तथा विक्री केन्द्र मार्फत बजारमा पठाउँदै आएका छन् । तरकारी संकलन केन्द्रको आँकडा अनुसार गत आर्थिक वर्षमा एउटै सहकारीले ९ सय देखि २ हजार मेट्रिक टनसम्म तरकारी संकलन गरेर बजारमा पठाएको छ । धादिङ जिल्ला भर ११ वटा कृषि सहकारीले तरकारी संकलन गरी देशका विभिन्न शहरहरुमा विक्रिका लागि पठाउने गर्दछन । सरकारले कृषि क्षेत्रको बिस्ताका लागि युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न अनुदानहरु राखेर कषि पेशामा युवाहरुको आकर्षक बढाएको छ । युवा लक्षित कार्यक्रम अन्तरगत विभिन्न सहुलीयत र अनुदान दिन थालेपनि यसपेशातिर खासै उत्सुकता देखिदैन ।

२०७४ कात्तिक २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: