Sat. Jul 5th, 2025

अमेरिकामा विद्यार्थी पठाउने देशको सूचीमा नेपाल तेह्रौं स्थानमा

२९ कात्तिक, काठमाडौं–

अमेरिकामा विद्यार्थी पठाउने देशहरूको सूचीमा नेपाल तेह्रौँ स्थानमा परेको छ ।

अमेरिकी विदेश मन्त्रालयको सहयोगमा इन्टरनेसनल एजुकेसन एक्सचेन्जले गर्ने वार्षिक अध्ययन ‘ओपन डोर्स’को हालै सार्वजनिक भएको सन् २०१७ को सारांश प्रतिवेदनमा चीन, भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानाडा, भियतनाम, ताइवान, जापान, मेक्सिको, ब्राजिल, इरान र नाइजेरियापछि नेपाल रहेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार अमेरिकामा ११ हजार ६ सय ७ नेपाली विद्यार्थी छन्, जुन कुल अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्याको १.१ प्रतिशत हो ।

धेरै विद्यार्थी पठाउने २५ देशहरूको सूचीको अन्तिम स्थानमा दक्षिण एसियाकै अर्को देश बङ्गलादेश रहेको छ । नेपाल, भारत र बङ्गलादेश बाहेक अन्य दक्षिण एसियाली देश शीर्ष २५ को सूचीमा परेका छैनन् । यी २५ देशहरूमध्ये हरेक देशबाट कम्तीमा सात हजार विद्यार्थी अमेरिकामा अध्ययनरत रहेका छन् ।

यसैबीच यो वर्ष नेपाली विद्यार्थीको आगमन दर २०.१ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यो वृद्धिदर शीर्ष २५ देशहरूमध्येकै सबैभन्दा उच्च हो । त्यसपछि भारतीय विद्यार्थीको सङ्ख्यामा १२.३ प्रतिशतले वृद्धि भएको छ ।

नेपाली र भारतीयसँगै नाइजेरियाली र बङ्गलादेशी विद्यार्थीको बढ्दो उपस्थितिलाई पनि उल्लेख्य वृद्धि मानिएको छ । दुबै देशबाट अमेरिका जाने विद्यार्थीको सङ्ख्यामा ९.७ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकामा रहेका विदेशी विद्यार्थीमध्ये चिनियाँ र भारतीयको सङ्ख्या जोड्दा कुल अन्तर्राष्ट्रिय विद्यार्थीको आधाजति हुन आउँछ ।

२०७४ कात्तिक २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: