३० कार्तिक, धादिङ ।
धादिङबेसी स्थित पशुमतिनाथ मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालि रातभर भजन किर्तन गरी मेला लाग्दैछ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी धादिङका पशुपति मन्दिरहरुमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् ।
चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । यसैगरी काठमाण्डौको श्री पशुपतिनाथ मन्दिरमा पनि आज विषेश मेला लाग्दै छ । धादिङबेसीको पशुपति मन्दिरमा नीलकण्ठ नगरपालीका लगायत अन्य केहि गाँउपालिकाबाट भक्तजनहरु आउने गर्छन ।
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताए ।
शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।
भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।
वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृग आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ ।
यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुद्र्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै च्युरा खाँदा झन मीठो भएकाले त्यसै बेलादेखि उनी मुद्र्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने कार्य तथा लामा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको किंवदन्ती पनि छ ।
२०७४ कार्तिक ३० गते प्रकाशित