

सृजना लंम्साल / ३० कात्तिक, धादिङ –
धादिङमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम संचालन गर्न टोली खटाइएको छ । अन्नबाली भित्राउने समय भएकाले मतदाता घरमा नभेटिएपछि खेतमा नै गएर मतदाता शिक्षा प्रदान गरिएको छ ।
मंसिर महिना मानो खाएर मुरी भित्राउने समयमा सबै किसानहरु खेतमा धान काट्ने र भित्राउने समय परेकाले घरमा नभेटिएका मतदातालाई खेतबारीमै गएर शिक्षा दिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन जिल्ला निर्वाचन कार्यालयले जिल्लाका स्वंयसेवक, सामाजिक परिचालकलाई मतदाता शिक्षाका बारेमा तालिम प्रदान गरेको थियो । तालिम पश्चात टोली गाउँगाउँमा खटिइएका छन् ।
‘निर्वाचनको समय छोटो छ, सबैलाई मतदाता शिक्षाको बारेमा जानकारी दिन सकिदैन कि भनेर काम गरिरहेकै ठाउँमा गएर मतदाता शिक्षाको बारेमा जानकारी गराउँदै हिडेका छौँ’ स्वंयसेवक शोभा लंम्सालले बताइन् । निलकण्ठ नगरपालिका ९ मा खटिएकी स्वयंमसेवक शोभा भन्छिन् ‘मतदाताहरुलाई मंसिरको चटारो छ, घरमा कोहि भेटिन्न खेतखेतमा खोज्दै हिड्नुपर्छ धेरै समस्या भएको छ ।’
खेतमै गएर भोट हाल्ने तरिका सिकाउने गरेको छु । घरमा कोहि भेटिन्न निर्वाचन कार्यालयले जुन जिम्मेवारी दिएको छ जसरी नि पुरा गर्छु खेतमा गएर अथवा अन्त गएर उनले भनिन् ।
मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक स्थानीय तहमा स्वंयसेवक खटाएको छ । निर्वाचनका लागि धादिङ जिल्लामा २ सय ७५ मतदान केन्द्र र १ सय ९ मतदानस्थल निर्धारण गरिएको छ ।
२०७४ कात्तिक ३० गते प्रकाशित