५ मंसिर ।
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा सोमबार राति बम विस्फोट भएको छ ।
राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
२०७४ मंसिर ५ गते प्रकाशित