
५ मंसिर, धादिङ –
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेको नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रसाद अर्यालले औद्योगिक क्षेत्रको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीले युवा प्रतिनिधित्व गरेर मलाई उम्मेदवार बनाएको बताउँदै जनताको लामो संर्घष पछि जनताको प्रतिनिधिहरुले निमार्ण गरेको लोकतान्त्रिक संविधान कार्यान्वयन गरि देश र जनताको आर्थिक सम्वृद्धिमा सहयोग पु¥याउन सदैव अठोट रहने बताए ।
‘वाम गठवन्धनले चुनाव लक्षित गठबन्धन गरी देशलाई अधिनायकवाद निम्त्याउन खोजेको छ । बाम गठवन्धन गरी चुनाव जितेर संविधान संशोधन गरेर कम्युनिष्ट अधिनायकवाद लाद्ने र लोकतान्त्रिक शक्तिलाई पाखा लगाउन खोजेकोले वाम अधिनायकवाद रोक्न मेरो उम्मेदवारी हो,’ अर्यालले भने ।
धादिङ जिल्ला कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रमा प्रचुर संभावना भएको जिल्ला हो । औद्योगिककरणको केही नमूनाहरु बनिसकेका छन् । तिनीहरुलाई व्यवस्थापन र विस्तार गर्न आवश्यक छ । त्यसको ठोस योजना बनाएर औद्योगिक क्षेत्र विस्तार गर्न सकिन्छ र गर्न आवश्यक छ । पेट्रोल पम्प, ग्याँस भण्डार, सिमेण्ट उद्योग, इट्टा मट्टाहरु सञ्चालनमा छन् । स्वदेशी पूँजीले मात्र हामीले चाहेजति विकास सम्भव छैन । त्यसका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक छ ।
यस क्षेत्रका अधिकांश किसानहरु व्यवसायिक कृषिमा लागेका छन् । कृषिको औद्योगिक विकासका लागि आधुनिकिकरण, औजारिकरण गरी किसानहरुको जीवनस्तर उकास्ने योजना छ । औद्योेगिक क्षेत्र बनाउने, ढुङगा वालुवाको कारखाना व्यवस्थित बनाउने योजना छ ।
वैशाख १२ को विनाशकारी भूकम्पले अधिकाशंलाई घरवार विहिन बनाएको छ । घरवार विहिनलाई घर भित्र राख्ने योजना रहेको बताए । १ वर्ष भित्र सवै भूकम्प पिडितलाई घरमा बसाउन विशेष योजना बनाएर कार्यान्वयनमा उत्रने छु । शिक्षा स्वास्थ्य रोजगारी सबैले पाउने अर्यालले बताए ।उनी धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार हुन् ।
२०७४ मंसिर ५ गते प्रकाशित