Sat. Jul 5th, 2025

बाली भित्राउने कि भोट हाल्न जाने ?

सृजना लम्साल /  ७ मंसिर, धादिङ –

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिरहेको छ । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् भने किसानहरु बाली भित्राउनमा व्यस्त देखिन्छ ।

किसानलाई लगाएको खेती कसरी भित्राउने भन्नेमा चिन्ता छ । निर्वाचनको मिति नजिकिदाँ भोट हाल्न जाने कि बाली भित्राउने अन्यौलमा छन् ।

नीलकण्ठ २ की धनमाया परियार भोट भन्दा पनि खेतीपाती भित्राउनु प्रमुख प्राथमिकता रहेको बताउँछिन् । ‘हाम्रो लागि भोट हाल्नु भन्दा खेतीपाती भित्राउनु ठुलो हो’ धनमायाले बताइन् । किसानलाई मताधिकारवाट वञ्चित गराउने गरी सरकारले मंसिरमा निर्वाचन गर्नु उपयुक्त नरहेको उनले बताईन् ।

असार र साउनमा लगाईएका धान कोदोहरु भित्राउन किसानहरु व्यस्त रहेका बेला निर्वाचनमा मत हाल्न जाने समय नरहेको निलकण्ठ २ की राममाया विक बताउँछिन् । उनी भन्छिन्, ‘मंसिरको चटारो भ्याईनभ्याई छ , आफ्नो मुखमा आएको वाली नथन्काएर के को भोट , भोट दिएर भकारी भरिदैन, भोको वस्न सकिदैन ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गए पनि जिल्लाका अधिकांश किसानलाई चुनाव लागेको छैन । बाली भित्राउने समय भएकाले हिजोआज किसान खेतबारीमै व्यस्त देखिन थालेका छन् । जिल्लाका अधिकांश भूभागमा यतिबेला धान, कोदो भित्र्याउन किसान व्यस्त छन् । बाली भित्राएर सकेपछि मात्र चुनावमा लाग्ने खेतबारीमै भेटिएका किसानले प्रतिक्रिया दिए ।

‘पाकेको धान काट्न र झाट्नमै व्यस्त छौं’, सिद्धालेक गाउंपालिका ४ की मनमाया अर्याल भन्छिन् ‘धान भित्र्याएर नसक्दासम्म कतै लाग्दैनौँ ।’ स्थानीयमा जस्तो यसपाली गाउँमा चुनावले त्यति नछोएको उनले प्रतिक्रिया दिइन् । ‘यो भन्दा अघिको चुनावमा धेरै नेता आएका थिए’, उनले भनिन, ‘यसपाली त्यस्तो छैन । फाट्टफुट्ट आए पनि खेतमै आएर भोट माग्छन् र जान्छन् ।’

धादिङमा मतदातासँग भोट माग्न जाने सबै पार्टीका उम्मेदवार खेतबारीमै किसानलाई भेट्न पुग्ने गरेका छन् । उम्मेदवारले किसानसँग फोटो खिचाएर सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको पाइएको छ ।

मंसिर दोस्रो सातासम्म जिल्लाका माथिल्लो भेगका किसान आजभोलि कोदो काट्न व्यस्त छन् । अगौटे धान भित्राईसकेको र कोदो टिप्ने समय भएको छ । ‘कोदो काटेर नभ्याउँदासम्म कतै जान फूर्सद हुँदैन’, निलकण्ठ नगरपालिका १० ज्याङरुङकी धनमाया मगरले भनिन्, ‘चुनाव आयो भन्छन् । खै हामीलाई त्यति जानकारी छैन, ‘बिहानै बारीमा कादो काट्न जान्छौँ’, उनी भन्छिन, ‘साँझ परेपछि घर आउँछौं किसानलाई केको चुनाव लाग्ने नी ? ’

धादिङमा १६ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिन्छ । गत वर्ष ५२ हाजार मेट्रिक टन धान उत्पादन भएको धादिङमा अहिले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गत कात्तिक महिनामा आएको असीना पानीका कारण निलकण्ठ नगरपालिका १४ र नेत्रावती गाउँपालिकामा धानवाली नष्ट भएको कारण उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यलयका कृषि अधिकृत केशव देवकोटाले बताए । धादिङमा धान उत्पादन हुने क्षेत्रहरु मध्ये निलकण्ठ नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका तथा राजमार्ग क्षेत्रहरुमा रहेका खेतहरुमा वढि धान उत्पादन हुने गर्दछ ।

 

२०७४ मंसिर ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: